29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

पालिका स्तरीय सम्मलेन मंसिर ४ गते गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं। नेकपा माओवादी केन्द्रले मंसिर पहिलो साता पालिका स्तरीय सम्मेलन गर्ने निर्णय गरेको छ । सोमबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले असोज ३० गते गर्ने भनेको पालिका स्तरीय सम्मेलन मंसिर ४ गते गर्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले पालिका स्तरीय सम्मेलन दशैंमा परेका कारण मंसिरमा गर्ने निर्णय भएको जानकारी दिनुभयो । यसअघि असोज ३० गते पालिका स्तरीय सम्मेलनहरु गर्ने तयारी माओवादी कन्द्रले गरेको थियो । तर, असोज २९ गते दशैंको टीका परेकाले बैठकले कार्यतालिका परिवर्तन गरेको उहाँले बताउनुभयो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले सरकार विस्तारमा देखिएको कानूनी जटिलता हटाएर तत्काल प्रक्रिया शुरु गर्नुपर्नेमा जोड दिँदै गठबन्धनमा आबद्ध दलसँग छलफल गर्ने भएको छ । स्थायी समितिको बैठकले मन्त्रिपरिषद् विस्तारमा देखिएको कानूनी जटिलतालाई अविलम्ब समाधान गरेर अगाडि बढ्न गठबन्धनमा संलग्न दलसँग परामर्श गर्ने निर्णय गरेको हो ।

आजको बैठकमा सरकार विस्तारका लागि कानूनी जटिलता, अध्यादेश तथा सर्वोच्च अदालतमा रहेको मुद्दालगायत विषयमा छलफल भएको थियो । माओवादी केन्द्रका स्थायी समिति सदस्य देवप्रसाद गुरुङका अनुसार सरकार विस्तारमा देखिएको जटिलता समाधान गरेर शीघ्र पूर्णता दिन त्यससँग जोडिएका विषयमा छलफल भएको हो ।

स्थायी समितिको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी गराउनुभएको थियो भने स्थायी समिति सदस्यको राय पनि लिनुभएको थियो ।

यस्तै बैठकमा पार्टीको आगामी राष्ट्रिय सम्मेलन र त्यसअघि सम्पन्न गर्नुपर्ने टोल तथा वडा भेलाका बारेमा पनि छलफल भएको थियो । नेता गुरुङका अनुसार पार्टी सदस्यताको नवीकरण असोज मसान्तसम्म गर्ने नयाँ कार्यतालिका तय गरिएको छ । यस्तै टोल भेला आगामी कात्तिक ६ गतेसम्म गर्ने, कात्तिक १३ गते वडा सम्मेलन र आगामी मङ्सिर ४ गते स्थानीय पालिका सम्मेलन गर्ने गरी कार्यतालिका तय गरिएको छ ।

पालिका, वडा र टोल सम्मेलनका बारेमा केही दिन समय थप गरिएको भए पनि राष्ट्रिय सम्मेलनको कार्यतालिकाका बारेमा भने कुनै परिवर्तन गरिएको छैन । माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म गर्ने निर्णय यसअघि नै गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स