24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

भक्तपुरका लिबालीवासी आकाशेपानीका भरमा जिवन धान्दै

भक्तपुर । भक्तपुर लिबालीका ९२ घरपरिवारले आकाशेपानी सङ्कलन गरी खानेपानीको गर्जो टार्दै आएका छन् । सामुदायिक स्तरबाटै आकाशेपानी सङ्कलन गरी ट्याङ्कीमा जम्मा गरेर घरघरमा वितरण गर्ने गरिएको छ ।लिबाली गणेश ट्याङ्की निर्माण समितिका अध्यक्ष नारायण खाइतूूका अनुसार गुठी संस्था, भक्तपुर नगरपालिका र खानेपानी बोर्डसमेतको पहलमा आकाशेपानी सङ्कलन गरिएको छ ।

लिबालीमा खानेपानीका लागि पाइप व्यवस्था नभएकाले स्थानीय टाढाटाढा गएर पानी ल्याउन बाध्य थिए । उहाँले आकाशेपानी सङ्कलनपछि स्थानीयलाई निकै सजिलो भएको बताउनुभयो । स्थानीयले आकाशेपानी उपभोग गर्न थालेको करिब चार वर्ष भइसकेको छ । भूकम्पले लिबालीका घर भत्कँदा पानीको समस्या अझ बढी जटिल बनेको थियो । लिबालीका लागि २५ हजार लिटरको ट्याङ्की बनाउने बजेट प्राप्त भए पनि स्थानीयको मागअनुसार ठूलो ट्याङ्की निर्माण गरिएको अध्यक्ष खाइतूले जानकारी दिनुभयो ।

उहाँका अनुसार ट्याङ्की बनाउने काममा स्थानीयले श्रमदान गर्नुका साथै आर्थिक सहयोगसमेत गरेकाले एक लाख छ हजार लिटर पानी अट्ने ट्याङ्की बनाइएको छ । यद्यपि, स्थानीयले सरसफाइ, नुवाइ–धुवाइका लागि अन्यत्रकै पानीमा भर पर्नुपर्ने बाध्यता यथावत् छ । प्रत्येक परिवारलाई दैनिक ४० लिटर पानी दिने व्यवस्था मिलाइएको छ ।

लिबाली टोल गुठीका पानीविज्ञ प्रकाश अमात्यले एउटा समुदाय जुट्यो भने कति धेरै काम गर्न सकिन्छ भन्ने उदाहरण लिबालीवासीले दिएको बताउनुभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स