24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

बेमौसमी हिमपातले जनजीवन कष्टकर

ताप्लेजुङ । ताप्लेजुङमा विगतका वर्षहरूमा फागुन अन्तिमदेखि नै हिउँ पर्ने क्रम क्रमशः घट्दै जान्थ्यो । पुसदेखि फागुनसम्म हिमपातले हिमाल र उच्च पहाडी क्षेत्रका टाकुरा सेताम्मे हुने गर्थे । त्यसपछि क्रमशः हिउँ पर्ने क्रम न्यून हुँदै चैतदेखि मौसम न्यानो र खुला हुन्थ्यो । तर यस वर्ष त्यसको ठीकविपरीत भएको छ । पुस–माघमा हिउँ नपरेर चैत लागेदेखि सामान्य वर्षासँगै हिमपात भइरहेको छ ।

पछिल्लो समय दैनिकजसो साँझ, बेलुका वर्षा भइरहेको छ भने उच्च क्षेत्रमा हिमपात भइरहेको छ । शुक्रबार बेलुका तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरासहितका उच्च क्षेत्रमा बाक्लो हिमपात भएको छ । यसअघि सामान्य हिमपात भए पनि यति धेरै हिउँ खसेको थिएन । साँझ परेपछि वर्षा हुने र हिउँ पर्ने क्रम केही दिनदेखि चलिरहेको हिमाली बस्ती घुन्साका दीपक शेर्पाले बताउनुभयो ।

यो वर्ष शुक्रबार पहिलो पटक केहि उच्च क्षेत्रका गाउँमा समेत हिउँ परेको छ । सिरीजङ्घा गाउँपालिकामा पर्ने याम्फुदिन, मामांखे, मिक्वाखोला गाउँपालिकाको पापुङ लगायतका गाउँमा हिमपात भएको स्थानीयले बताए । हिउँदको समयमा पानी नपर्दा हिउँदे बालीनाली फस्टाउन नसके पनि पछिल्लो समयमा परेको वर्षाले भने किसानलाई सामान्य राहत मिलेको छ । तर तल्लो क्षेत्रसम्म नै हिउँ पर्दा भने अलैँची बालीमा क्षति हुन्छ । तर यतिबेला पर्ने हिउँले अलैँची खेतीलाई भने असर गर्ने उहाँको भनाइ छ । बाक्लो हिउँले अलैँचीका बोट ढल्ने, हिमपातपछि चर्को घाम लाग्दा बोट सुक्नेजस्ता समस्या देखिने गरेको उहाँले बताउनुभयो ।

ताप्लेजुङमा यो वर्ष फागुन मध्यतिर फाट्टफुट्ट वर्षा र हिमपात भएको थियो । त्यसयता निकै दिनपछि चैत लाग्दादेखि सामान्यतया वर्षा भइरहेको छ । उच्च क्षेत्रमा भएको बेमौसमी हिमपातले आलुखेतीमा असर पुर्‍याएको छ । मानव बसोबास रहेका यहाँका हिमाली गाउँ घुन्सा, याङ्मा, ग्याब्ला, फले, ओलाङचुङगोलालगायतमा यतिबेला आलु रोपिसकिएको छ । केही दिनअघि रोपिएको आलु नउर्मिदै हिउँ परेकाले बीउ कुहिन सक्ने सम्भावना भएको स्थानीयले बताएका छन् ।

यहाँका हिमाली बस्ती तथा गाउँको मुख्य खेती भनेकै आलु हो । आलुखेतीबाटै स्थानीयवासीले आम्दानी लिन्छन् । आलु फलाएर तल्लो क्षेत्रका बासिन्दासँग अन्न साटेर लैजाने चलन छ । उच्च क्षेत्रमा अन्नबाली नहुने भएकाले औलका मानिससँग आलुसँग अन्न साटेर लैजाने गरिएको हो ।

यता बेमौसमी हिमपातले बालीनालीमा मात्रै नभई वन्यजन्तु र बोटबिरुवामा समेत असर पुग्ने बताइन्छ । समयमा हिउँ नपर्दा चिसोमा अभ्यस्त बोटबिरुवा र वन्यजन्तुमा असर पुग्छ भने न्यानो मौसम हुने सिजनमा हिउँ पर्दा पनि बोटबिरुवा र वन्यजन्तुलाई असर पुग्छ । वसन्त ऋतुमा हुने बाक्लो हिमपातले फूल फुलेका र पालुवा फेरेका बोटबिरुवालाई वृद्धि विकास हुनबाट रोक्छ । यस्तै न्यानो खोजिरहेका जीवजनावर तथा वन्यजन्तुलाई समेत एक्कासी पर्ने हिमपातले कठिनाइ हुने गरेको स्थानीयवासीले बताएका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स