24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

मिटर ब्याज पीडितको माग पूरा गर्न सांसदहरुको माग

काठमाडौ । सांसदहरुले मिटर ब्याजबाट पीडितहरुको माग सम्बोधन गर्न तत्काल ठोस निर्णय गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले देशका विभिन्न स्थानबाट काठमाडौँमा आई आन्दोलनरत पीडितहरुको न्यायका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

आजको बैठकको सुरुमा नै सभामुखसँग समय मागेर बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले एकजना मिटर ब्याज पीडित सिरहादेखि १३ दिनसम्म बच्चा बोकी पैदलै हिँडेर काठमाडौँको आन्दोलनमा आएको कुरा उल्लेख गर्दै मिटर उनीहरुको समस्या तत्काल समाधान गर्न सरकासँग माग गर्नुभयो । उहाँले पीडितहरुको न्यायका लागि स्थानीय सरकार र केन्द्रीय नेतृत्वबाट पहल हुन नसकेको बताउनुभयो ।

समय माग गर्दै बोल्नुभएका राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मिटर ब्याज पीडितहरुको माग चाँडोभन्दा चाँडो पूरा गरी पीडितहरुलाई न्याय दिन आग्रह गर्नुभयो । उहाँले उनीहरुको समस्या बुझ्न जाँदा आफ्नो पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीमाथि दुव्र्यवहार गर्न खोजिएको भन्दै आपत्ति जनाउनुभयो । सांसद लिङ्देनले कोशी प्रदेशको नामकरणपछि चर्किएको आन्दोलन मुठभेडतर्फ अगाडि बढेकोमा सरकारको ध्यानाकर्षण गराउँदै वार्तामार्फत समाधान खोज्न ध्यानाकर्षण गराउनुभयो ।

जनता समाजवादी पार्टीका सांसद रन्जुकुमारी झाले मिटर ब्याज पीडितहरु पैदल हिँडेर अहिले राजधानी आई आफ्नो पीडा पोखिरहेको उल्लेख गर्दै उनीहरुको माग सम्बोधनका लागि सदनबाटै एउटा समिति बनाएर काम थाल्नुपर्ने राय प्रस्तुत गर्नुभयो । आम जनता पार्टीका प्रभु साहले मिटरब्याज पीडितहरुको आन्दोलन चर्किरहेकाले उनीहरुको समस्या तत्काल समाधान गर्न सभामुखमार्फत सरकारलाई रुलिङको माग गर्नुभयो ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले देशको राजस्वले कर्मचारीलाई तलब दिन नपुग्ने अवस्थामा अर्थतन्त्रलाई कमजोर बताउने सरकारका अहिलेसम्मका मन्त्रीहरुले सदनलाई जवाफ दिनुपर्ने बताउनुभयो । उहाँले वीर अस्पतालमा लामो समयदेखि क्यान्सर उपचारको उपकरण बिग्रिएर थन्किँदा जनतालाई मार परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । साांसद सुवालले कोशी प्रदेशको नामकरणपछि भएको आन्दोलन वार्तामार्फत समाधान गर्न समेत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेकपा एमालेका सांसद शोभा ज्ञवालीले बर्दिया जिल्लाको राष्ट्रिय निकुञ्ज नजिकका बस्तीका स्थानीय जङ्गली जनावरको आक्रमणको जोखिममा परेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मिटर ब्याजपीडितको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउँदै भन्नुभयो, “न्यायको माग गर्दै पीडितहरु काठमाडौँसम्म आउन बाध्य हुनुहुन्छ । देशभरका अन्य पीडितहरु काठमाडौँ आउँदैहुनुहुन्छ भन्ने सुनेको छ । न्याय पाउन काठमाडौँ नै धाउनुपर्ने सम्झौता हुने कार्यान्वयन नहुने अवस्थाको अन्त्य हुनुपर्छ । यो न्यायपूर्ण समाजमा स्वीकार्य हुन सक्दैन ।”

समय मागेर बोल्दै नेकपा एमालेका सांसद रघुजी पन्तले कार्यसूची परिवर्तनप्रति आपत्ति जनाउनुभयो । उहाँले प्रतिनिधिसभाको आजको बैठकको पूर्वतयारी कार्यसूची किन हटाइयो भन्ने प्रश्न गर्नुभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स