24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

सडक हरियाली बनाउने अभियानमा धनगढी उपमहानगर

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाले सडक किनारालाई हरियाली बनाउने अभियान अगाडि सारेको छ । विभिन्न संघसंस्थाको सहकार्यमा उपमहानगरले अभियान कार्यान्वयनमा ल्याएको हो ।

अभियान अन्तर्गत मोहना–अत्तरिया सडकमा काठमाडौंको जावलाखेल ग्रूपदेखि नगर विकास कोषको सहयोगमा बिरुवा रोपिएका छन् । सडकको बीचभागमा वृक्षरोपण गर्नुका साथै तारजालीसमेत लगाएको छ । ६ लेन सडकको धनगढी चौराहबाट भन्सारसम्म तारजाली लगाउने काम जावलाखेल ग्रूपले गरेको हो । बोराडाँडीबाट विमानस्थल जाने बाटोसम्म धनगढी उपमहागरले आफ्नै लगानीमा बोटबिरुवा रोपेको जनाएको छ ।

‘६ लेन सडकमा वृक्षरोपण लगाउनुका साथै तारजाली लगाउने काम भएको छ,’ धनगढी उपमहानगरका इन्जिनीयर उपेन्द्र भट्टले भने, ‘यसमा जावलाखेल ग्रूप, सूर्य नेपाल प्रालि, धनगढी विकास समिति र उपमहानगरको लगानी रहेको छ ।’ सूर्य नेपालले यएरपोर्ट जाने बाटोबाट गोदावरी नगरपालिका अर्थात् सिमानासम्म बोटबिरुवा रोप्ने र तारजाली लगाउने काम गरेको इन्जिनीयर भट्टले जानकारी दिए ।

६ लेन सडक विभिन्न भागमा विभिन्न प्रजातिका बोटबिरूवा तथा फूलको बोट रोपेका हुन् । उपमहानगरपालिकालाई हरियाली तथा सौन्दर्यीकरण बनाउन सडकमा वृक्षरोपण गरिएको नगर प्रमुख गोपाल हमालले बताए । नगरलाई सुन्दर, सफा र हराभरा बनाउन वृक्षरोपण अति नै आवश्यक रहेको उनको भनाइ छ । ‘स्वच्छ, सफाका लागि बोटबिरुवा रोप्न आवश्यक छ,’ उनले भने, ‘त्यसले गर्दा उपमहागरले वार्षिक २ हजार बिरुवा रोप्नुका साथै हुर्काउने अभियान बनाएको छ । त्यसमा पनि टीगार्डसहित हुनेछ ।’

अझ ६ लेन सडकको बीच भागमा बिरुवा र दुबो लगाएर हरियाली बनाउने नगर प्रमुख हमालले बताए । ६ लेन मात्र होइन, निर्माणधीन अवस्थामा रहेका शहीदगेट क्याम्पस रोड सडक, ट्राफिक चौराह क्याम्पस चोक लगायतका सडकमा बिरुवा रोप्ने अभियान छ । उनले रोपिएका बिरुवा जोगाउनका लागि स्थानीयको साथ सहयोग विना सम्भव नभएको बताए ।

‘स्थानीयको सहयोग विना कुनै पनि काम असम्भव हुन्छ,’ उनले भने, ‘बिरुवा चोरी हुनेदेखि गाईवस्तुबाट बचाउन सबैले लाग्नुपर्नेछ ।’ वृक्षरोपण र सरसफाइ एकअर्काबीच अन्तरसम्बन्ध रहेकाले यसले सुन्दर र हराभरा देखिने बिरुवाको संरक्षण गर्नुपर्ने उनले जोड दिए ।

उपमहानगरले रोपिएका बिरुवा हुर्काउनका लागि साँझ, बिहान सिँचाइ समेत गर्ने गरेको छ । उपमहानगरको सडक हरियाली पार्ने अभियानले स्थानीय पनि हर्षित भएका छन् । सडक मिडियम, दायाँ र बायाँ भागमा बिरुवा रोप्ने कार्य अति नै उत्तम भएको धनगढी उपमहानगर–२ का नितेश बटालाले बताए । ‘धनगढी उपमहानगरले वातावरणमैत्री सडक बनाउने अभियान चालेको छ,’ उनले भने, ‘धनगढी प्रदेशमुकाम भएको हुँदा यसले गर्दा प्रदेशकै गौरव बढ्ने छ ।’ उनले बिरुवा रोप्ने कार्य चर्चामा आउनका लागि मात्र नभएर रेखदेख महत्त्वपूर्ण रहेको बताए ।

उपमहानगरमा नगरलाई सफा, स्वच्छ बनाउनका लागि सडकलाई हरियाली मात्र होइन, प्लाष्टिकका झोला समेत निषेध गर्ने अभियान छ । नगर स्वच्छताका लागि जनाउँदै धनगढी उपमहानगरपालिकाले मंसिरदेखि प्लाष्टिकका झोला बेच्न र सामान राखेर दिन रोक लगाएको हो । उपमहानगरले प्लाष्टिकका झोला बन्द गरेपछि कपडाका झोला प्रयोग हुन थालेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स