24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

ललितपुर महानगरका सबै विद्यालयमा सडक,सुरक्षा र सवारी सम्बन्धि औपचारिक पढाइ हुने

काठमाडौं । ललितपुर महानगरपालिका भित्रका सबै विद्यालयमा सडक सुरक्षा र सवारीसँग सम्बन्धित विषय औपचारिक रूपमा पढाइ हुने भएको छ। ललितपुर महानगरले सडक सुरक्षा शिक्षा शीर्षकको पुस्तकलाई स्थानीय पाठ्यक्रममा समावेश गरेपछि महानगरभित्रका विद्यार्थीले सडक सुरक्षा र सवारीसँग सम्बन्धित ज्ञान औपचारिक रूपमा कक्षाकोठाबाट नै प्राप्त गर्ने भएका हुन्।

सडक सुरक्षाको व्यवहारिक एवम् सैद्धान्तिक शिक्षा विद्यालयबाट नै प्रदान गर्ने उद्देश्यले ललितपुर महानगरपालिकाले सडक सुरक्षा शिक्षा प्रकाशित गरेको छ। उक्त पुस्तकको सोमबार कलाकार मदनकृष्ण श्रेष्ठ र ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र विभिन्न विद्यालयका २० जना विद्यार्थीले एकसाथ विमोचन गरे।

कलाकार मदनकृष्ण श्रेष्ठले सडकमा ट्राफिक नियम पालना गर्नु सभ्य नागरिकको परिचय भएको भन्दै यो पुस्तक दक्षिण एसियामा पहिलो भएको दाबी गरे। पुस्तक आधारभूत तहसम्म लागू गर्ने गरी तयार पारिएको ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए। उनले बालबालिकालाई विद्यालय तहबाट नै सडक सुरक्षासम्बन्धी ज्ञान दिन आवश्यक भएकाले आफूहरूले यो विषयलाई पाठ्यक्रममा नै राखेको तर्क गरे।

हरेक दिनजसो घट्ने सडक दुर्घटनाले सहर चुनौतीपूर्ण रहेकाले यसका लागि सडक पुस्तक प्रकाशित गरिएको ललितपुर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख महेन्द्रबहादुर क्षेत्रीले बताए। संस्कृति निर्माणको जग भनेको अहिलेको अवस्थामा आधारभूत तहको शिक्षा नै भएको उनले बताए ।

पुस्तकमा सडकमा हिँड्दा, सडकपेटी, बाटो काट्ने तरिका, ट्राफिक सङ्केतहरू, हेल्मेट र सिटबेल्ट , सबैका लागि सडक, खेलकुद र सडक, आकाशे पुल, सब वे, बसमा सुरक्षा, ताँती पङ्क्ति, मादक पदार्थ सेवन, ट्राफिक अङ्कल, साइकल, दुर्घटना र बच्ने उपाय, प्राथमिकता उपचार, म त ज्ञानी विद्यार्थी, सही—गलत, ट्राफिक चिन्हहरूका बारेमा चित्र र अक्षरसहित व्याख्या गरिएको छ। उक्त पुस्तक महानगरका नगर प्रहरी प्रमुख सिताराम हाछेथुले सम्पादन गरेका हुन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स