29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

ठेक्काको म्याद सकिनै लाग्दापनि ताराखोला गाउँपालिकाको अस्पताल निर्माण सुरु भएन

काठमाडौं । सरसर्ती निर्माण भएको भए बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाको आधारभूत अस्पताल अहिलेसम्म निर्माण भइसक्थ्यो ।

आगामी २०७९ चैत मसान्तभित्र अस्पताल भवन निर्माण सक्नुपर्ने ठेकेदार कम्पनी र ताराखोला गाउँपालिका बीचको सम्झौता भएपनि अस्पतालको काम अझै सुरु भएको छैन । जिल्लाका अन्य पालिकाका आधारभूत अस्पताल धमाधम निर्माण भइरहेको सन्दर्भमा यहाँ भने जग्गा स्थानान्तरण विवाद र ठेकेदार कम्पनीबीचको असमझदारीका कारण ताराखोला गाउँपालिकाको पाँच शय्याको अस्पताल निर्माण ठेक्का म्याद सकिनै लाग्दासमेत सुरु नभएको हो ।

भौगोलिक रुपमा दुर्गम गाउँपालिका रहेको ताराखोलामा अस्पताल बनाउनका लागि उपयुक्त जग्गा नभएकै कारण अस्पताल निर्माणमा कठिन देखिएको हो । आधारभूत अस्पताल निर्माणका लागि वडा नम्बर २ को सरपान्डीडाँडामा दुई वर्ष अघि शिलान्यास भए पनि जग्गा विवाद तथा भौगोलिक जटिलताको कारण देखाउँदै गाउँपालिकाले ठेक्का लगाइसकेको जग्गालाई स्थानान्तरण गरी सोही वडाको कुवाँधुनेखोलामा पुर्‍याउँदा अस्पताल निर्माणमा निर्माण व्यवसायी र पालिकाबीच समस्या देखिएको थियो ।

शिलान्यासको वर्षनै ताराखोलामा बाढी पहिरो गएका कारण उक्त सरपान्डीडाँडामा अस्पताल निर्माण गर्न भौगोलिकरुपमा जोखिम रहेको गाउँपालिकाका प्राविधिकको सल्लाहमा अस्पताल निर्माणको जग्गा स्थानान्तरण गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश गैरेले बताए ।

“दुई वर्षअघिनै जग्गा विवाद तथा भौगोलिक कठिनाइका कारण अस्पतालको जग्गा स्थानान्तरण गरिएको थियो, ठेकेदारले ठेक्का ल्याइसकेपछि काम रोकेर राखेको देखिएको छ, जुन स्थानमा अस्पताल बनाए पनि अस्पतालको डिजाईन एउटै हो, केही लागत थप घट भए पालिकाले निर्णय लिन्छ भन्ने थियो”, उनले भने, “निर्माण व्यवसायीले जग्गा स्थानान्तरणको कारण देखाउँदै भवन निर्माण गर्न आलटाल गर्दै दुई वर्ष बिताउनुभयो, चैत मसान्त सम्म सम्झौता मिति छ, म्याद सकिएपछि सार्वजनिक खरिद ऐनलाई टेकेर पुन ठेक्कामा जाने तयारीमा छौँ, अस्पतालजस्तो संवेदशनशील क्षेत्रमा चरम ढिलासुस्ती गाउँपालिकालाई मान्य छैन ।”

प्रशासकीय अधिकृत गैरेका अनुसार सार्वजनिक खरिद ऐनमा ठेक्का मिति सम्झौता नसकेसम्म ठेकेदारलाई कारबाहीको काम गर्न नपाइने भएकाले चैत मसान्तभित्र ठेकेदारले काम थाल्ने लिखित सम्झौता नगरे ठेक्का रद्द गर्ने प्रक्रियामा गाउँ कार्यपालिका जानेछ ।

पालिकाको आधारभूत अस्पताल समयमै नबन्दा गाउँपालिकाले दिने स्वास्थ्य सेवा प्रभावित बन्दै आएको ताराखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उदित थापाले बताए । प्राविधिकले पालिका अस्पताल बनाउन शिलान्यास गरिएको जग्गा उपयुक्त नदेखेपछि स्थानीयको पहलमा अर्को स्थानमा जग्गा व्यवस्थापन गरेर अस्पताल बनाउने गाउँपालिकाको योजना रहे पनि निर्माण व्यवसायीले काम नै नथाल्दा समस्या भएको उनको भनाइ छ ।

कोरोना कहरको समयमा पालिकाले कोरोना प्रभावित बिरामीलाई पालिकाले निर्माण गरेको बहुउद्देश्यीय सभाहलमा राखेर उपचार गराएको थियो । भौगोलिक रुपमा भिरालो जमिन रहेको ताराखोलामा ठूला भवन तथा संरचना निर्माण गर्न समस्या हुँदै आएको छ ।

विसं २०७७ वैशाखमा दुई वर्षमा निर्माण सक्ने गरी गाउँपालिका र एसी कन्ट्रक्सनबीच रु सात करोड ५७ लाखमा ठेक्का सम्झौता भएको थियो । ठेक्का म्याद सकिना दुई महिना मात्रै बाँकी रहदा अस्पताल निर्माण सुरुसमेत भएको छैन भने निर्माण व्यवसायीले पालिकाको कारण अस्पताल बनाउन नसकेको बताउँदै आएको छ । यता ताराखोला गाउँपालिकाले निर्माण व्यवसायीका कारण काम नभएको जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स