24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

उपत्यकाका निर्माणाधीन सडक निर्धारित समयमै सक्न निर्देशन

काठमाडौं । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडक पूर्वाधार अलपत्र पार्ने ठेकेदारलाई समयमै सडक पूर्वाधार सक्न निर्देशन दिएका छन् । बिहीबार भौतिक मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक तथा विभिन्न आयोजना प्रमुखसहितको सहभागितामा भएको बैठकमा उनले निर्माण व्यवसायीलाई समयमै काम सक्न समयसीमासमेत दिएका छन् । बैठकमा सहभागी निर्माण व्यवसायीहरूले तोकेको समयकै काम सक्ने लिखित सहमति गरेका छन् । उनीहरूले आयोजनाका सहजता र जटिलताबारे मौखिक रूपमा वस्तुपरक प्रतिवेदन प्रस्तुत गरे ।

बैठकमा उपप्रधानमन्त्री श्रेष्ठले विकास निर्माणलाई महत्व दिएर उद्योगका रूपमा स्थापित गर्ने गरी सकारात्मक भूमिका खेल्न आग्रह गरे । उनले अहिले सरोकारवालाको नजरमा निर्माण व्यवसायी र कर्मचारीप्रति नकारात्मक दृष्टिकोण रहेकाले त्यसलाई सुधार गर्न पनि जरुरी रहेको भन्दै समयमै काम सक्न निर्देशन दिए । ‘हामी सिस्टमअन्तर्गत रही विकास निर्माणमा अगाडि बढ्नुपर्छ,’ उनले भने ।

काम सकेपछि भत्काएको ठाउँ जस्ताको तस्तै बनाइदिने सहमति
उपप्रधानमन्त्री श्रेष्ठले काठमाडौंका सडकमा भइरहेका विभिन्न निर्माण गतिविधिले पारेको समस्या समाधानका लागि सरोकारवाला निकायका पदाधिकारी बोलाएर छलफल गरेका छन् । बिहीबार दिउँसोको बैठकमा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, मेलम्ची खानेपानी आयोजनाका निर्देशक राजेन्द्र सापकोटा, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रबन्ध निर्देशक ज्ञानेन्द्र कार्की, नेपाल दूरसञ्चार संस्थानकी उपमहानिर्देशक विनिता प्रधान तथा मन्त्रालय र अन्तर्गतका सहसचिवहरू सहभागी थिए ।

उपप्रधानमन्त्रीले सरकारी निकायहरूबीच नै समन्वय अभावले सडक भत्किरहने समस्या समाधानका लागि सबै निकायले एकीकृत योजना बनाउनुपर्नेमा जोड दिए । एउटा निकायले बनाएको सडक, अर्को निकायले भत्काउँदा त्यसले जनतामा नकारात्मक असर परेको भन्दै अबदेखि त्यस्तो समस्या आउन नदिन सबै निकाय जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स