29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

पोखरा महानगरले अझै ल्याण्डफिल खोज्न सकेन, सडकमै थुप्रिन थाल्यो फोहोर

पोखरा । पोखराका मेयर धनराज आचार्यले टिकट काटेर फोहोर प्लाण्ट हेर्ने अवस्था बनाउँछु भनेका थिए । पोखरा १४ मा रहेको ल्याण्डफिल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कारण स्थानान्तरण गर्नुपर्ने भएपछि पत्रकारले सोधेका थिए, ‘अब पोखराको फोहोर कसरी व्यवस्थापन हुन्छ रु’ उनको जवाफ थियो, ‘अहिले अल्पकालीन व्यवस्था गर्छौँ । केही समयभित्रै पोखरामा फोहोरबाट हुने आम्दानी टिकट काटेर हेर्ने बनाउँछु ।’

करिब ४ वर्षअघि देखि ल्याण्डफिल स्थानान्तरणको लागि पटक पटक पत्राचार गरेपनि महानगरले वास्ता गरेन । विमानस्थल निर्माण सकिएपछि बाध्यतावश महानगरले पुरानो ल्याण्डफिल पुरेको हो ।

तर नयाँ ल्याण्डफिलको खोजी समयमा गर्न नसक्दा अहिले पोखराको फोहोर सडकमै थुप्रिएको छ । फोहोर उठाउने गाडीहरू फोहोरले भरिएर थन्किएका छन् । पोखराका हरेक चोक र सडकमा अहिले फोहोर थुप्रिएको छ । पुरानो ल्याण्डफिल बन्द भएसँगै पोखराले फोहोर उठाउन छोडेको हो । ‘सबै गाडीमा फोहोर भरिएको छ । लगेर फाल्ने ठाउँ छैन,’ सरसफाइ शाखाकै एक कर्मचारीले भने । पोखराले अल्पकालीन रूपमा ३२ नम्बर वडाको लामे आहालमा फोहोर फाल्ने निर्णय कार्यपालिकाबाट गराएको थियो । उक्त निर्णय विरुद्ध स्थानीयले फोहोर फाल्न नदिने चेतावनी दिएका छन् ।

जनवरी १ तारिखदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान भर्ने तयारी छ । पोखराका प्रवक्ता मोती तिमिल्सीनाले अवरोध भएका ठाउँमा सहजीकरणको प्रयास गरिएको बताए । ‘उहाँहरूसँग सहजीकरण गर्दैछौँ । केही अप्ठ्यारा आएको छ,’ उनले भने, ‘अझै केही दिन फोहोर उठाउने अवस्था छैन । ल्याण्डफिलको काम भइरहेको छ ।’ लामे आहाल बाहेक अन्य ठाउँमा पनि पोखराले फोहोर डम्प गर्ने जग्गा खोजी गरेको उनले बताए ।

४ दिनदेखि सडकमै फोहोर थुप्रिँदा सहरमा दुर्गन्ध फैलिएको हो । पोखरामा दैनिक १ सय ८० टन फोहोर उत्सर्जन हुने अनुमान छ । ती सबै फोहोर ल्याण्डफिलमा लगेर फाल्ने गरिएको थियो । अहिले पोखराले फोहोरबाट ऊर्जा उत्पादनको प्रयास गरिरहेको छ । कम्पनीहरूसँग बिजुली वा ग्याँस उत्पादनका लागि छलफल भइरहेको मेयर धनराज आचार्यले बताए । तर उक्त प्लाण्ट कहिलेदेखि सुरु हुन्छ भन्ने टुंगो छैन ।

पोखराको २१, २२ र ३३ नम्बर वडामा प्लाण्ट राख्न जग्गा खोजी भइरहेको छ । पोखरा ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीको संयोजकत्वमा जग्गा खोजी र सिफारिस समिति गठन भएको थियो । समितिले तीन ठाउँको जग्गा प्रस्ताव गरेको छ । ती जग्गाहरूमा वातावरणीय प्रभाव मूल्यांकनको काम अघि बढेको आचार्यले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स