29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

कालिगण्डकी नदी वारपार गर्न काठेपुलकै भर

म्याग्दी। कालिगण्डकी नदी किनारमा रहेको तातोपानी कुण्डमा जानका लागि स्थानीय एक युवाले नदीमा स्थानीय प्रविधिको प्रयोग गरेर काठको अस्थायी पुल निर्माण गर्नुभएको छ । झोलुङ्गे पुल नहुँदा यहाँ हिँउदको समयमा कालिगण्डकी नदी वारपार गर्न काठेपुलको भर पर्नुपर्ने बाध्यता छ ।

अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीदेखि पारी पाउद्धारको पुछारमा रहेको तातोपानी कुण्डमा स्नान गर्न जाने पर्यटक र विरामीहरुको सुविधाका लागि स्थानीयवासी कुमार तिलिजा पुनले व्यक्तिगत रुपमा एकलाख रुपियाँ खर्चिएर काठको अस्थायी पुल निर्माण गर्नुभएको हो । पुल बनाउन तिलिजाले काठका फ्ल्याक, बाँस र ग्यावियन झाली प्रयोग गर्नुभएको छ । तातोपानी कुण्ड जाने विरामी, पर्यटक र कुण्ड आसपासका सर्वसाधरणलाई काठको पुलबाट नदी वारपार गर्दछन् ।

कालिगण्डकी नदीमा पुल नहुँदा कुण्डमा स्नान गर्न आउने पर्यटक र विरामीहरु नारच्याङको पुल तरेर घुमाउरो बाटो प्रयोग गरेर आउनुपर्ने भएकाले केही महिनाका लागि भएपनि सहज बनाउन आफूले काठको अस्थायी पुल निर्माण गरेको तिलिजाले बताउनुभयो । पुल बनेसँगै कुण्डमा स्नान गर्न आउने विरामी अवस्थाका वृद्धवृद्धाहरु र पर्यटकलाई निकै सहज भएको छ । पुल जेठको दोस्रो हप्ता सम्म रहने र नदीमा पानीको सतह बढेपछि झिकेर राख्ने तिलिजाले बताउनुभयो ।

पुल बनाउन तिलिजा सँगै दैनिक रुपमा ७ जनाले एकमहिना काम गरेका थिए । मजदुरलाई ज्याला,पुल बनाउन प्रयोग भएका काठ, बाँस र ग्यावियन झाली सहित करिब एकलाख रुपियाँ खर्च भएको तिलिजाले बताउनुभयो । उक्त पुल करिब ६ महिनासम्म रहने उहाँले बताउनुभयो । पुल बनाउने खर्च गाउँपालिकाले दिने आश्वासन पाएपनि अहिलेसम्म रकम नपाएको तिजिलाको भनाई छ ।

कुण्डको व्यवस्थापनको जिम्मा समेत लिनुभएका तिलिजाले पुल बनाइदिएपछि ४५ मिनेटको बाटो छोटिएर ५ मिनेट भएको कुण्डमा स्नान गर्न आउनुभएका रघुगंगा गाउँपालिका २ तिप्ल्याङकी लिला गुरुङले बताउनुभयो । रोग निको बनाउन कुण्डमा स्नान गर्न आउने वृद्धवृद्धाहरु घुमाउरो बाटो हिडेर आउन असहज भएको थियो गुरुङले भन्नुभयो, ‘‘काठको अस्थायी पुलले वारीपारी गर्न निकै सहज बनाइदिएको छ ।

पक्की झोलुङ्गे पुल नै बनाइदिए कुण्डमा आउन नदी वारपार गर्न सजिलो हुने र कुण्डको पनि प्रवद्र्धन हुने थियो ।’’ पूर्वाधार विकास कार्यालय म्याग्दीले उक्त स्थानमा पुल बनाउनका लागि चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सकारले बजेट विनियोजन गरेको जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स