29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४ सिटको नतिजा आउन बाँकी

काठमाडौँ। प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमध्ये १६१ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ। अब ४ वटा क्षेत्रको मात्रै मतपरिणाम आउन बाँकी छ।

१६५ मध्ये नेपाली कांग्रेसले ५४ स्थानमा जित हासिल गरि पहिलो स्थानमा रहेको छ। नेकपा एमालेले ४४ सिटमा जित हासिल गरेको छ। त्यस्तै, नेकपा माओवादी केन्द्रले १७ स्थानमा, नेकपा एकीकृत समाजवादीले १० स्थानमा, राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थानमा, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ स्थानमा, जनता समाजवादी पार्टीले ७ स्थानमा, जनमत पार्टीले १ स्थानमा, लोकतान्त्रि समाजवादी पार्टीले ४ स्थानमा, नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा तथा राष्ट्रिय जनमोर्चाले १ स्थानमा जित हासिल गरेको छ।

बाँकी निर्वाचन क्षेत्र

सुनसरी– ४
सुनसरी निर्वाचन क्षेत्र नं। ४ मा मतगणना जारी छ। सो क्षेत्रमा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की थोरै मतले अघि रहेका छन्। कार्कीले २५ हजार ९४४ र उनका प्रतिस्पर्धी नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले २५ हजार ६२२ मत पाएका छन्।

मतगणना हुन नसकेका स्थान
दोलखा
निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा मङ्सिर १५ गते पुनः मतदान गर्दैछ। आयोगको आइतबार बसेको बैठकले दोलखाको वैतेश्वर गाउँपालिका–२ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र ‘क’ र ‘ख’ र सोही गाउँपालिका–३ को कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’मा पुनः मतदान गर्ने निर्णय गरेको हो। त्यसैगरी सोही गाउँपालिका–६ मा वैतेश्वर मावि मतदान केन्द्रको ‘क’, ‘ख’ र ‘ग’ तथा तामाकोसी गाउँपालिका–३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्र ‘क’ र ‘ख’ मा पुनः मतदान गर्ने निर्णय गरेको हो। आयोगले गत मङ्सिर ४ गते भएको मतदान कार्य स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा हुन सकेको नदेखिएकाले उक्त मतदान रद्द गरी मङ्सिर १५ गतेभित्र पुनः मतदान सम्पन्न गराउन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई निर्देशन दिएको हो। सो क्षेत्रमा नेकपा एमालेका बालकृष्ण शिवाकोटी तथा नेकपा माओवादी केन्द्रका गंगा कार्कीबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

स्याङ्जा– २
स्याङ्जा निर्वाचन क्षेत्र नं। २ मा अझै मतगणना हुन सकेको छैन। प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सकिएको १० दिन बितिसक्दा पनि अझै मतगणना सुरु नभएको हो। नेकपा एमालले चापाकोट नगरपालिकाका ३, ४ र ५ नम्बरका वडाहरुमा रहेका बुथमा नेपाली कांग्रेसले बुथ कब्जा गरेको भन्दै पुनः निर्वाचन गर्न भन्दै निवेदन दिएको छ भने नेपाली कांग्रेसले छिटो गणना हुनुपर्ने भन्दै दैनिकजसो धर्ना दिँदै आएको छ। दुवै दलको आफ्नै अडानको कारण मतगणना हुन नसकेको हो। चापाकोट नगरपालिकाका ३, ४ र ५ वडाहरुमा बुथ कब्जा गरी कांग्रेसले मृत्यु भएका र विदेशमा रहेका मतदाताको समेत ९८ प्रतिशत फर्जी मत खसालेको एमालले आरोप लगाउँदै आएको छ। घटना बुझ्न स्याङ्जा आएको अनुसन्धान टोलीले आयोगलाई प्रतिवेदन बुझाउन नसक्दा आयोगले कुनै निर्णय गर्न सकेको छैन।

बाजुरा
बाजुराको बुढीनन्दामा मतदान स्थगित भएको थियो। अन्यत्रको मतपेटिका संकलन गरेर मुख्य निर्वाचन अधिकृतलाई बुझाइएको छ। सो क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमालेले नै एक अर्कामाथि बुथ क्याप्चरको आरोप लगाउँदै केही ठाउँमा फेरी मतदान हुनुपर्ने माग गरेका छन्। दुवै दलले फेरी मतदान हुनुपर्ने भनी तोकेका ठाउँहरु भने फरक–फरक छन्। यसबारेमा निर्वाचन आयोगले कुनै निर्णय लिन सकेको छैन।

बाजुरामा नेकपा एमालेका कर्ण बहादुर थापा तथा नेपाली कांग्रेसका बद्री प्रसाद पाण्डेबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स