24.1 C
Kathmandu
Friday, July 26, 2024
spot_img

बाढीपहिरो पिडित एक सय ३७ घरधुरीलाई राहत वितरण

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिकामा अविरल वर्षाका कारण भदौ ३१ गते बाढी र पहिरोले क्षति पुर्याएका १३७ घरधुरीलाई आवाज संस्थाले राहत वितरण गरेको छ । पञ्चपुरी नगरपालिका–९, १० र ११ नम्बर वडाका बाढी र पहिरोले बढी मात्रामा क्षति पुर्याएको थियो । बाढी पहिरोले पञ्चपुरी–९ को राग, खुर्सानीबारी, जमुनाघारी, वडा नंं १० को जामु, राजी बस्ती, गल्फा, बागबजार र वडा नं. ११ को तातापानीमा सडक, खानेपानी, घर, शौचालयका साथै धानबालीमा क्षति पुर्याएको थियो ।

बाढी र पहिरोमा परी भैँसी, बङ्गुर, खसी, कुखुराहरू मर्नुका साथै घरको तल्लो तलामा रहेका खाद्यान्न, लत्ता कपडालगायत सामग्रीहरू बगाएको थियो । उक्त बस्तीका १३७ घरधुरीहरूमा घरमा भएको खाद्यान्न सामग्री बाढीले बगाएपछि आवाजले राहत सामग्री सहयोग गरेको हो ।

नगरपालिकाको हलमा एक कार्यक्रमको आयोजना गरी संस्थाले प्रतिघरधुरी २५ किलो चामल, ३ किलो दाल, ३ लिटर तेल, ३ किलो नुन र ४ प्याकेट पिठो टिडिएच जर्मनी मेजरियोको सहयोगमा वितरण गरिएको संस्थाका कार्यक्रम संयोजक सुनिलकुमार कार्कीले जानकारी दिनुभयो । खाद्य राहत हस्तान्तरण कार्यक्रममा पञ्चपुरी नगरपालिकाका प्रमुख, कार्यालय प्रमुख, इलाका प्रहरी कार्यालयका प्रमुख, सम्बन्धित वडा अध्यक्षहरू, विषयगत शाखा प्रमुख र पत्रकारहरूको उपस्थिति रहेको थियो ।

यस्तै, नगरप्रमुख लालवीर भण्डारीले आवाज संस्थाले बाढी पहिरो प्रभावितलाई प्रदान गरेको खाद्य सामग्री सम्बन्धित वडाका बाढी पहिरो प्रभावितहरूलाई तत्काल तिहार अगाडि वितरण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । आवाज संस्थाले पञ्चपुरी नगरपालिकामा कोभिड सङ्क्रमणदेखि बाढी पहिरोको जोखिमको बेलासम्म राहत प्रदान गरेर सहयोग गरेको भन्दै प्रमुख भण्डारीले धन्यवाद दिनुभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स