26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

नाकामा घर फर्किनेको भीड

कञ्चनपुर । नेपालीहरुको महान् पर्व विजयादशमीका लागि भारतबाट फर्किनेको नाकामा घुइँचो लागेको छ । रोजगारीका लागि भारतमा रहेका नेपाली चाडपर्वका बेला घर फर्किन थालेपछि गड्डाचौकी नाकामा भीड लागेको हो । एक सातायता कञ्चनपुरको गड्डाचौकी नाकाबाट दश हजारभन्दा बढी नागरिक स्वदेश फर्किएका छन् ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार एक दिनमा मात्रै एक हजारभन्दा बढी नागरिक भारतबाट नेपाल फर्किँदै छन् । सोमबार मात्रै एक हजार २० जना स्वदेश फर्किएका छन् भने मङ्गलबार एक हजार एक सय ६५ जना स्वदेश फर्किएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख श्यामसिंह चौधरीले नाकामा भारतबाट आउने नेपालीको भीड लागेको बताए । “रोजगारीका लागि भारतमा रहेका नेपाली घर फर्किने क्रम बढेको छ, नाकामा भीडभाड छ”, उनले भने, “भीडभाड बढेपछि सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाएका छौँ ।” उनले अहिले भारत जानेभन्दा नेपाल आउनेको सङ्ख्या बढी रहेको बताए ।

भारतबाट घर फर्किनेको चाप बढेपछि प्रहरीले आपराधिक गतिविधि न्यूनीकरणका लागि नाकामा तालीम प्राप्त कुकुर परिचालन गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीस्थित कुकुर शाखाबाट ‘लिली’ नामको कुकुरसहितको सुरक्षा टोली परिचालन गरिएको उनले बताए । “चाडपर्व सुरक्षा योजनाअन्तर्गत नाकामा तालिम प्राप्त कुकुरसहितको सुरक्षा टोली परिचालन गरेका छौँ”, उनले भने, “भारतबाट आउने यात्रुको सुरक्षित यात्राका लागि र आपराधिक गतिविधि न्यूनीकरणका लागि नाकामा कुकुर परिचालन गरिएको हो ।”

उनले चाडपर्वका बेला हुने आपराधिक क्रियाकलाप न्यूनीकरणका लागि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको बताए । उनका अनुसार लिलीले नियमित रुपमा नाकामा जाँच गर्ने बताए । भारतको हिमाञ्चलबाट घर फर्केका लम्कीचुहाका रामबहादुर भण्डारीले दसैँ मनाउनका लागि घर फर्केको बताए ।

“भारतको हिमाञ्चलमा रोजगारीका लागि गएको १० वर्षभन्दा बढी भइसक्यो, हरेक वर्ष दसैँ मनाउन घर आउँछौँ”, उनले भने, “दसैँ तिहार मनाएर फेरि रोजगारीका लागि भारत फर्किन्छौं, नेपालमा रोजगारी छैन ।” भारतको दिल्ली, मुम्बई, महाराष्ट्र, पञ्जाब, बैङ्गलोर, सिमला, हिमाञ्चल, हरिद्वार लगायतका सहरमा नेपाली रोजगारीका लागि जाने गरेका छन् ।

भारतबाट आउनेमा विभिन्न रोग सङ्क्रमणको जोखिम रहेकाले नाकामै जाँचको व्यवस्था मिलाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । भारतबाट फर्किनेहरू नाकामा कोरोना परीक्षण र खोप लगाउने डेङ्गु, मलेरिया जाँच भइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स