29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

दसैँ मनाउन घर फर्किए नेपाली

नेपालगन्ज । नेपालगन्जस्थित जमुनाह नाकामा दसैँ मनाउन फर्किने नेपालीको घुइँचो लाग्ने गरेको छ। कामका लागि भारत गएका नेपाली सोह्र श्राद्ध सुरु भएदेखि फर्किने क्रम बढेको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक माधवप्रसाद रिजालले जानकारी दिए।

उनका अनुसार पछिल्लो समय दैनिक कम्तीमा चार हजार नेपाली दसैँ मनाउन घर फर्किने गरेका छन्। उनले बिहानको समयमा नाकामा ठूलो भिड लाग्ने गरेको बताए। ‘दसैँ मनाउन आउने नेपालीको एकाबिहानै नाकामा थामिनसक्नु भिड लाग्छ। कोरोना र सामानको जाँच गरेर पठाउनुपर्ने भएकोले हामीलाई सम्हाल्न गाह्रो भइरहेको छ,’ उनले भने।

विगतका वर्षमा दसैँ मनाउन आउन नपाएकाहरू यसपालि छिट्टै फर्किएका छन्। कोरोनाका कारण दसैँ मनाउन घर आउन नपाएकाले यसपालि छिट्टै फर्किएको बारेकोट गाउँपालिका– ५ नायकबाडा, जाजरकोटका विनोद चलाउनेले बताए।

‘कोरोनाका कारण दसैँ मनाउन आउन नपाएको दुई वर्ष भयो। यसपालि मजाले दसैँ मनाउने सोचका साथ छिट्टै घर फर्कियौँ,’ पत्नी र छोराछोरीसँगै जमुनाह नाकामा भेटिएका विनोदले भने। उनी विगत १० वर्षदेखि स–परिवार भारतको सिम्लास्थित स्याउ बगानमा काम गर्दै आएका छन्।

दसैँ मनाउन आउनेमा कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशको अछाम र लुम्बिनी प्रदेशको दाङ, रोल्पा, प्युठान तथा रुकुम पूर्वका छन्। सपरिवार फर्किएका उनीहरू यस वर्ष स्वदेश फर्किने नेपालीको संख्या धेरै भएको बताउँछन्। गंगादेवी गाउँपालिका– ४ पाखापानी रोल्पाका मोहन घर्तीले कोरोना संक्रमण घटेकाले यस वर्ष दसैँ मनाउन फर्किने नेपालीको संख्या अधिक भएको बताए। उनले चण्डीगढमा रहेका अधिकांश नेपाली दसैँ मनाउन आउने क्रममा रहेको जानकारी दिए। ‘अघिल्ला वर्षभन्दा यस वर्ष नेपाल आउने नेपालीको संख्या तेब्बर छ जस्तो लाग्छ,’ उनले अनुमान लगाए।

गत वर्षको दसैँमा घर नआएका सिम्ता गाउँपालिका– ४ का नन्दाराम विक पनि दसैँ मनाउन फर्किएका छन्। दसैँलगत्तै कर्मथलो रामपुर कुल्लु फर्किने गरी दसैँ मनाउन आएको उनले बताए। गत वर्ष कोरोनाका कारण दसैँ मनाउन नआएको उनले स्पष्ट पारे। ‘कोरोनाका वेला दसैँमा रमाइलो हुन्न होला भन्ने लागेर गत वर्ष घर आइनँ,’ उनले भने, ‘यसपालि लामो बिदा लिएर आएको छु। तिहार मनाएर फर्किने योजना छ।’

आफ्ना साथीसँगै बबई गाउँपालिका– १, दाङका धनबहादुर केसी पनि दसैँ मनाउन फर्किएका छन्। स्याउ टिप्न भारतको सिम्ला पहाड गएका उनीहरू दसैँ, तिहार मनाउन फर्किएका हुन्। दसैँ नजिकिएपछि परदेशमा बस्न मनले मानेन। छिटोछिटो गरी घर फर्कियौँ,’ उनले भने ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स