24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

सर्वोच्चमा आजदेखि गोला प्रक्रियाबाट पेसी व्यवस्थापन

काठमाडौं । सर्वोच्च अदालतले बुधबार ९आज०देखि गोला प्रक्रियाबाट पेशी व्यवस्थापन शुरु गर्ने भएको छ । विहान १० बजे सबै न्यायाधीशहरु भेला भई गोटी तानेर इजलास गठन गर्ने र त्यसपछि मुद्दाको समूह छानेर सुनुवाइको सुरुवात गर्नेछन् ।

सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले बुधबारदेखि गोला प्रक्रियाबाट पेसी व्यवस्थापन हुने बताए । ‘संशोधित नियमावली र नयाँ निर्देशिका अनुसार नै इजलास व्यवस्थापन हुने हो,’ ढकालले भने, ‘निर्देशिकामा भएको व्यवस्था अनुसार इजलास चयन हुन्छ । त्यसपछि मुद्दा तोकिन्छ ।’

बुधबारदेखि शुरु हुने नयाँ पेसी व्यवस्थापन प्रक्रियासँगै इजलासमा न्यायाधीश छान्ने र इजलासमा मुद्दा तोक्ने प्रधानन्यायाधीशको तजविजी अधिकार कटौती हुनेछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा स्वेच्छाचारी भएको, सेटिङका आधारमा इजलास गठन र मुद्दा व्यवस्थापन गरेको आरोपमा बारले गोला प्रक्रियाबाट पेसी व्यवस्थापन गर्न माग गरेको थियो । गत साउनमा न्यायाधीश हरिकृष्ण कार्कीले पेश गरेको प्रतिवेदनमा पनि अल्पकालीन रुपमा गोलाप्रक्रिया र दीर्घकालीन रुपमा स्वचालित पेशी प्रक्रिया अपनाउनुपर्ने सुझाव दिइएको थियो ।

प्रतिवेदनमा भनिएको थियो, ‘अदालतहरूमा पेसी तोक्ने सम्बन्धमा भइरहेको कानूनी व्यवस्थामा संशोधन गरी स्वचालित पेसी सूची प्रणाली लागू गर्नुपर्ने र स्वचालित पेसी सूची प्रणाली लागू नहुँदासम्म अदालतहरूमा गोलाप्रथा’द्वारा पेसी व्यवस्थापन गर्ने ।’

सर्वोच्च अदालतको पूर्ण बैठकले प्रतिवेदन स्विकृत गरेको थियो । त्यसक्रममा प्रधानन्यायाधीश जबराले गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका थिए । अनि २०७८ साउन २४ गते सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रक्रियाबाट पेशी व्यवस्थापन गर्ने निर्णय समेत गरेको थियो । त्यसैको कानूनी व्यवस्था र निर्देशिका बनाउन न्यायाधीश मीरा खड्काको संयोजकत्वमा समिति बनेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स