26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

दशैका लागि अग्रिम टिकट लिने यात्रुको सङ्ख्या न्यून

काठमाडौँ । दशैँ तिहारलगायतका चाडपर्वमा काठमाडौँ उपत्यकाबाट बाहिरिन अग्रिम टिकट काट्ने यात्रुको सङ्ख्या न्यून रहेको छ । कोभिड–१९ का कारण न्यून यात्रुले टिकट काटेको पाइएको हो ।

सामान्य अवस्थामा भन्दा चाडपर्वमा यस वर्ष उपत्यकाबाट बाहिरिने यात्रु ३० प्रतिशत मात्र रहेको यातायात व्यवसायीले बताएका छन् । कोभिड–१९ का कारण घर फर्किने यात्रुको सङ्ख्या कम भएको हुनसक्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताउनुभयो । गत वर्ष यात्रुको चाप कम भएकाले अग्रिम टिकट खुलाइएको थिएन । तर यस वर्ष भने यात्रुलाई घर फर्कन समस्या नहुने उहाँको भनाइ छ ।

यस पटक टिकट काउन्टरमा यात्रुको भीडभाड छैन । विगत वर्षमा दशैँमा घर फर्किनेमध्ये विद्यार्थीको सङ्ख्या अत्यधिक हुन्थ्यो । यस वर्ष भने विद्यालय र क्याम्पस बन्द रहेका कारण उपत्यकामा विद्यार्थीको सङ्ख्या न्यून छ ।

कतिपयले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै उपत्यका छाड्न नचाहेको पाइएको सिटौलाले बताउनुभयो । उहाँले भन्नुभयो “घटस्थापना नकुरेर अहिले नै घर फर्कन हामीले आग्रह गर्दै आएका छौँ ।” सवारी साधनको नियमित अनुगमन भइरहेको र चाडपर्व लक्षित गरेर यसलाई बढाइएको यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले बताउनुभयो ।

आलसम्म थोरै सङ्ख्यामा यात्रुले मात्र अनलाइन टिकट काटेका छन् । पोखरा, लुम्बिनीलगायत ठाउँ जान चाहने पर्यटकले अनलाइन टिकट काटेको पाइएको छ । यात्रुको सहजताका लागि उपत्यकाका नागढुङ्गा, कलङ्की, बसपार्क, माछापोखरी, चाबहिल, गौशाला, सातदोबाटो, बल्खुलगायत १४ ठाउँमा नागरिक सहायता कक्ष राखिएको छ । यसका साथै ट्राफिक प्रहरी र यातायात विभागले संयुक्तरुपमा अनुगमन गरिरहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स