26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

बाँकेमा निर्माण सम्पन्न नहुँदै भत्किन थाल्यो पक्की सडक

बाँके । बाँकेको जानकी गाउँपालिकास्थित पिप्रहवा चोकदेखि खजुरा नहर चोक जोड्ने पक्की सडक निर्माण सम्पन्न नहुँदै भत्किएको छ । गाउँपालिकाको महत्वपूर्ण योजनाका रुपमा रहेको निर्माणाधीन सात किलोमिटर सडकमध्ये कालोपत्र गरिएको करिब दुई किलोमिटर सडकमा भत्किने र भासिने समस्या देखिएको छ ।

ठेकेदार कम्पनीले कम गुणस्तरको काम गरेकाले कालोपत्र गरेको दुई महिनामै सडक भत्किएको स्थानीय अगुवा दुखीराम लोनियाले बताउनुभयो । निर्माण सम्पन्न नहुँदै सडक भत्किन थालेपछि सडक गुणस्तरीय निर्माण गर्न आफुहरुले पटक–पटक माग गर्दै आएको उहाँको भनाइ छ ।

सिक्टा सिँचाइ आयोजनाको नहरसँगै जोडिएको उक्त सडक साँघुरो छ । नहरको केही भागलाई समेत समेटेर निर्माण गरिएको सो सडकमा दैनिक सयौँ ठूला मालबाहक गाडी गुड्छन् । साँघुरो र भत्किएको सडकका कारण दिनहुँ सडक दुर्घटना हुने र ट्राफिक जाम लाग्ने गर्दछ ।

गाउँपालिकाले पहिलो चरणमा गत वर्ष उक्त सडकमा माटो पटान, ग्राभेल, नाला र कल्र्भट निर्माणलगायत काम गर्न करिब रु आठ करोड खर्च गरेको थियो । दोस्रो चरणमा यस पटक कालोपत्र मात्रै गर्न ठेकेदारसँग रु चार करोड ६१ लाख ५१ हजार ५७९ मा ठेक्का सम्झौता गरिएको छ । दोस्रो चरणअन्तर्गत २०७७ माघ २५ गते भएको सम्झौताको म्याद २०७८ फागुन १ गते सकिने गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इञ्जिनियर प्रजेश आलेले जानकारी दिनुभयो ।

उहाँले सम्झौताअनुसार ठेकेदार कम्पनीले सडक निर्माण गरे पनि केही स्थानमा सडक भत्किने र भासिन पुगेको बताउनुभयो । ठेकेदारले सबै काम सम्पन्न गरेर हस्तान्तरण नगर्दासम्म बीचमा आउने समस्या समाधान गर्न लगाइने उहाँको भनाइ छ । ठेकेदार कम्पनी ‘अमर÷सिस्ने जेभी’ ले सडक निर्माण गर्ने जिम्मा लिएको छ । गाउँपालिकालाई सदरमुकाम नेपालगञ्जसँग जोड्ने मुख्य सडकका रुपमा समेत निर्माण कार्य सुरु गरिएको हो ।

गाउँपालिकाको वडा नं ६ गनापुरस्थित पिप्रहवा चोकदेखि वडा नं ४ खजुराखुर्दको नहरचोक हुँदै नेपालगञ्ज–गुलरिया हुलाकी सडकमा जोड्ने गरी निर्माण गरिएको गाउँपालिकाका उपाध्यक्ष भूमिसरा धितालले बताउनुभयो । निर्माणाधीन सडक भत्केको र भासिएको स्थानमा अनुगमन गरिएको उल्लेख गर्दै उपाध्यक्ष धितालले सम्झौताअनुसारको गुणस्तरीय सडक निर्माणका लागि ठेकेदार कम्पनीलाई आग्रह गरिएको जानकारी दिनुभयो ।

गनापुरको पूर्वी क्षेत्रमा रहेका उद्योगले नेपालगञ्ज, कोहलपुर सडक प्रयोग गर्दै आए पनि पश्चिमतर्फ भित्रीभागमा रहेका उद्योगलाई सो सडक निर्माणपछि सवारी साधन आवागमनमा सहज हुनेछ । सिक्टा सिँचाइको नहरसमेत यही सडकको किनारबाट निर्माण हुँदैछ । सिक्टाको नहरबाट तीन मिटर र स्थानीय जग्गाधनीबाट चार मिटर जमिन प्राप्त गरी सात मिटर चौडाइ हुने गरी सडक निर्माण गरिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स