29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

अवैधरुपमा सञ्चालित तनहुँका २० वटा क्रसर उद्योग बन्द

तनहुँ। तनहुँमा जिल्लामा अवैधरुपमा सञ्चालनमा रहेका २० क्रसर उद्योग बन्द गराइएको छ । पुस २० गते गृह मन्त्रालयले मापदण्डविपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरे बमोजिम बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पुरानो मापदण्ड अनुसार दर्ता भएको र हालको मापदण्ड नपुगेकाले नवीकरण नभएका तथा अन्य मापदण्ड पालना नगरी सञ्चालनमा रहेका जिल्लामा सञ्चालनमा रहेका २० वटा क्रसर उद्योगमा ताला लगाइएको जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला अनुगमन समितिका संयोजक शान्तिरमण वाग्लेले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी र १० वटै पालिकाको प्रमुखको सहभागितामा बसेको जिल्ला अनुगमन समितिको बैठकबाट मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्ने निर्णयअनुसार सबै क्रसर उद्योगमा ताला लगाएको समन्वय प्रमुख वाग्लेले जानकारी दिनुभयो । मन्त्रालयको परिपत्र प्राप्त गरेपछि पुस २१ गते जिल्लाका २० क्रसर उद्योग बन्द गरिएको हो ।

२०७७ मा बनेको सरकारी मापदण्डअनुसार क्रसर उद्योग राजमार्ग, खोला वा नदी किनारबाट ५ सय मिटर, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक, सांस्कृतिक, पुरातात्तिक महत्वका स्थान तथा सुरक्षा निकायबाट २ किलोमिटर टाढा मात्र क्रसर उद्योग सञ्चालन गर्न पाइन्छ । पक्की पुलबाट ५ सय मिटर, अन्तर्राष्ट्रिय सीमाबाट २ किलोमिटर, वन तथा निकुञ्ज वा आरक्षण, घना बस्ती, हाइटेन्सन लाइनबाट २ सय मिटर, ऐतिहासिक ताल, तलैया, जलाशय र पोखरीबाट ५ सय मिटर तथा चुरे पहाडको फेदीबाट १ हजार ५ सय मिटर टाढामात्र क्रसर उद्योग स्थापना वा सञ्चालन गर्न सरकारले अनुमति दिएको छ ।

व्यवसायीले भने नयाँ मापदण्ड अनुसार क्रसर उद्योग सञ्चालन गर्न नसकिने बताएका छन् । जिल्लामा शुक्लागण्डकी नगरपालिकामा १३, आँबुखैरेनी गाउँपालिकामा ३, म्याग्दे गाउँपालिकामा ३ र बन्दीपुर गाउँपालिकामा एउटा क्रसर उद्योग सञ्चालनमा छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स