24.1 C
Kathmandu
Friday, July 26, 2024
spot_img

लाइन मिच्ने मन्त्रीलाई रोक्न खोज्ने सुरक्षा गार्ड प्रहरी हिरासतमा

काठमाडौँ । व्यक्तिगत कामको सिलसिलामा ठमेलस्थित छायाँ सेन्टर पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्दा त्यहाँ कार्यरत एकजना सुरक्षा गार्ड पक्राउ परेका छन् । घटना शुक्रबारको हो ।

मन्त्री श्रेष्ठ शुक्रबार व्यक्तिगत कामका लागि ठमेलको छायाँ सेन्टर पुगेका थिए । भिसाका लागि बायोमेट्रिक विवरण दिन पुगेका मन्त्री श्रेष्ठभन्दा अगाडि अरु थुप्रै सेवाग्राही थिए । त्यसपछि भिसा सेन्टरमा कार्यरत ‘ग्रुप फोर’ सेक्युरिटी कम्पनीसँग आवद्ध सुरक्षा गार्ड शेरजंग कुँवरले मन्त्री श्रेष्ठलाई लाइनमा बस्न आग्रह गरे ।

तर, मन्त्रीको साथमै रहेका अंगरक्षकले ‘उहाँ मन्त्रीज्यु हुनुहुन्छ, जान दिनुस्’ भनेर जवाफ दिएपछि सुरक्षा गार्डले अगाडि थुप्रै लाइनमा रहेको बताए । उनले पुनः मन्त्री श्रेष्ठलाई लाइनमा बसेर आउन आग्रह गरेपछि श्रेष्ठ झोक्किएका थिए । त्यसपछि सुरक्षा गार्ड र मन्त्रीबीच भनाभन नै भएको थियो । पछि ठेलमठेलबीच मन्त्री श्रेष्ठ काम सकेर मन्त्रालय फर्किए ।

मन्त्री श्रेष्ठ फर्किएपछि पर्यटन मन्त्रालयले छाँया सेन्टरस्थित व्यक्तिगत काममा गएका बखत मन्त्रीमाथी सुरक्षा गार्डबाट दुर्व्यवहार भएको भन्दै कारबाहीका लागि गृह मन्त्रालयमा पत्र पठाएको थियो । शुक्रबार नै गृहले पर्यटनको पत्र प्रहरी प्रधान कार्यालय पठाइदियो । प्रहरी प्रधान कार्यालयबाट काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट काठमाडौं प्रहरी परिसर हुँदै दरबार मार्ग वृत्तमा पत्र पुग्यो । त्यसकै आधारमा पक्राउ परेका सुरक्षा गार्ड कुँवरलाई वृत्तले अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी गरेको हो । कुँवर अहिले दरबारमार्ग प्रहरीको हिरासतमा छन् ।

काठमाडौं प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० भरत बोहराले कुँवर प्रहरी नियन्त्रणमा रहेको र उनीमाथि कानुन अनुसार कारबाही हुने बताए । ‘मन्त्रीज्युलाई सुरक्षा गार्डबाट दुर्व्यवहार भएको उजुरीपछि सुरक्षा गार्डलाई नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखएको छ,’ एसएसपी बोहराले भने, ‘यससम्बन्धमा दरबारमार्ग प्रहरीले अनुसन्धान गरिरहेको छ, कसुर देखिए कानुन अनुसार कारबाही अघि बढ्छ ।’

दरबारमार्ग वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) कोपिला चुडालले मन्त्रीजस्तो सम्मानित व्यक्तिमाथि दुर्व्यवहार गरेको उजुरी आएपछि दुर्व्यवहार गर्नेलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको बताइन् । ‘देशको बहालवाला मन्त्री, त्यो पनि सरकारी सुरक्षाकर्मीसहित जानुभएको थियो, मन्त्रीज्युको समयको पनि सीमितता हुन्छ, राज्य चलाउने मान्छे, हामीजस्तो पर्याप्त समय हुँदैन उहाँहरुलाई,’ डीएसपी चुडालले भनिन्, ‘मन्त्रीज्युको बडीगार्डले पनि पटक पटक आग्रह गर्दा पनि नमानेर दुव्यर्वहार गरेपछि हामीलाई पर्यटन मन्त्रालयबाट जाहेरी आएको हो । पर्यटनबाट गृह हुँदै प्रहरी प्रधान काार्यलयबाट आएको जाहेरीका आधारमा सुरक्षागार्डलाई पक्राउ गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको हो ।’ उनीमाथी प्रहरीले मुलुकी अपराध संहिताको अभद्र व्यवहारको कसुरमा मुद्दा चलाउने तयारी गरेको छ । अपराध संहिताको दफा १ सय १८ मा कसैलाई अभद्र व्यवहार गर्न नहुने र गरेमा १ वर्ष सम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुनसक्छ ।

‘कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिलारबालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन’ भनिएको छ । सोही दफाको उपदफा २ मा ‘त्यस्तो कसुर गर्ने वा गराउनेलाई एक वर्ष सम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुनेछ’ भनिएको छ । तर, मन्त्री श्रेष्ठलाई लाइनमा बसेर आउन आग्रह गरेकै भरमा सुरक्षा गार्डमाथी प्रहरीले जबर्जस्ती अभद्र व्यवहारको कानुन लगाएर कारबाही गर्न उद्यत देखिएको छ ।

यसअघि २०७६ माघमा पनि प्रहरीले गायिका आस्था राउतलाई सामान्य भनाभन भएकै आधारमा अभद्र व्यवहारको मुद्दा लगाएर केही दिन हिरासतमा राखेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट झापा जाने क्रममा गायिका राउत र विमास्थलको आन्तरिक टर्मिनलतर्फको प्रस्थान कक्षमा कार्यरत प्रहरीबीच भनाभन भएपछि राउतलाई प्रहरीले अभद्र व्यवहारको कसुरमा मुद्दा चलाएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स