27.1 C
Kathmandu
Tuesday, September 26, 2023

सकियो ३२ लाख घरको गणना सकियो

काठमाडौँ। घर तथा घरपरिवार गणना कार्य सुरु भएदेखि अहिलेसम्म ३२ लाख घर र ३० लाख परिवार गणना भइसकेको छ । गत भदौ ३० गतेदेखि गणना सुरु भएको हो । घर तथा घरपरिवार गणना कार्यका लागि आठ हजार पाँच सय जना सुपरिवेक्षक देशभर खटिएका छन् ।

विभागका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार, घर तथा घरपरिवार गणना कार्य असोज १८ गतेसम्म सम्पन्न गरिने विभागको योजना छ । उक्त अवधिमा करिब ७० हजार घर तथा घरपरिवारको गणना हुने अनुमान केन्द्रीय तथ्याङ्क विभागले गरेको छ ।

अहिले भइरहेको घर तथा घरपरिवार गणना कार्यक्रममा सुपरिवेक्षकको कामको सहजीकरणका लागि सबै वडामा सहजीकरण समिति बनाइएको छ । उक्त समितिले सुपरिवेक्षकलाई आवश्यक समन्वय गरिरहेको निर्देशक लामिछानेले बताउनुभयो ।

विदेशी दूतावासमा कार्यरत सबै नेपाली कर्मचारीको पनि पहिलो पटक गणना हुने भएको छ । राष्ट्रिय जनगणना २०७८ को क्रममा दूतावासका कर्मचारीको गणना हुन लागेको हो । यसअघिका जनगणनामा विदेशमा रहेका कर्मचारी छु्ट्ने गरेका थिए ।

कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म हुने मूल गणनामा अनलाइनको माध्यमबाट विदेशस्थित दूतावास र महावाणिज्य दूतावासमा कार्यरत नेपाली कर्मचारीको विवरण पनि समावेश गर्न लागिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

विभागका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार विदेशमा गएका नेपालीको भने उहाँहरूकै नेपालमा भएका परिवारससँग सबै विवरण लिएर गणना गरिन्छ । कुनै व्यक्तिको पूरै घरपरिवार विदेश गएका छन् भने त्यस्ता परिवारको गणना गरिँदैन । जनगणनाका क्रममा विदेशमा गएका नागरिकको सङ्ख्या गणना गरिए पनि कुल जनसङ्ख्यामा जोडिँदैन । ती व्यक्तिलाई अनुपस्थित विदेश भनेर राखिने लामिछानेले बताउनुभयो ।

यस पटकको जनगणनामा एक जना व्यक्तिले कतिवटा बैङ्कमा खाता खोलेका छन् ? खाता नखोलिएका व्यक्तिको सङ्ख्या कति छ ? बैङ्कबाट ऋण लिएका र व्यवसायका लागि तालिम लिएका व्यक्ति कति जना छन् भन्ने नयाँ प्रश्नावली पनि थप गरिएको छ ।

अहिले भइरहेको घर तथा घरपरिवार सूचीकरण गणना कार्यमा आवासीय घर, खाली घर, कार्यालय प्रयोजनका लागि निर्माण गरिएको घर र कच्ची वा पक्की, घरको तला, घर निर्माण गर्दा सरकारी अनुदान लिएर बनाएको वा आफैँले बनाएको लगायतका विषय पनि प्रश्नावलीमा समावेश गरिएको छ ।

राष्ट्रिय जनगणना २०७८ का लागि देशभर ८७ वटा प्रदेश तथा जिल्ला जनगणना र ३४९ वटा स्थानीय कार्यालय सञ्चालन आएका छन् । यस पटकको जनगणनाको नारा ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नारा गरिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स