काठमाडौं । सङ्खुवासभा सामूहिक हत्याकाण्डका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै संखुवासभास्थित चैनपुर इलाका प्रहरी कार्यालयले सामूहिक हत्याकाण्डका आरोपी लोकबहादुर कार्कीलाई सर्वाजनिक गरेको हो ।
गत सोमबार सङ्खुवासभाको मादी गाउँपालिका–१ खोलागाउँका ९१ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय छोरा तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, १९ वर्षीय नाति दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो । उनीहरुको हत्या आरोपमा प्रहरीले शनिबार २६ वर्षीय लोकबहादुर कार्कीलाई नियन्त्रणमा लिएको थियो ।
त्यसक्रममा उनले आफैंले ६ जनाको हत्या गरेको स्वीकार गरेका छन् । लोकबहादुरले बताएअनुसार उनी वैदेशिक रोजगारीमा गएका थिए । तर पछिल्लो पटक विरामी भएर काम गर्न नसक्ने भएपछि फर्किएका थिए । उनले औषधि समेत खाइसकेको पाइएको डीआईजी बीसीले जानकारी दिए ।
लोकबहादुरका हजुरबुवा र मृतक तेजबहादुरका बुबा बौद्धमान दाजुभाइ थिए । लोकबहादुरका हजुरबुवाले आफ्नो मृत्यु हुने क्रममा तेजबहादुरलाई आफ्ना छोराहरुको पनि रेखदेख गर्न आग्रह गरेका थिए । परिवारको हर्ताकर्ता तेजबहादुर बेलाबेला उनीहरुको घरमा जाने र सम्झाउने गरेका थिए ।
लोकबहादुर आक्रमण र झैझगडा गर्ने गर्थे । अरूले भनेको नमान्ने, अल्छी स्वभावका भएकाले तेजबहादुरले बेलाबेला गाली गर्थे । काम नलाग्ने, पागल जस्ता शब्द प्रयोग गरेर गरेको गाली लोकबहादुरको मनमा गढेको पाइएको प्रहरी अधिकृतहरुले बताएका छन् ।
यसरि भएको थियो छ जनाको हत्या
घटना भएको दिन तेजबहादुरले खेताला आउन भनेका थिए । लोकबहादुर र उनका भाइलाई पनि बोलाइएको थियो । तेजबहादुर घटना हुने दिन पनि र बोलाउन गएका थिए । बाबु र भाइ घाँसका काट्न गएका थिए भने लोकबहादुर घरमै थिए ।
बिहानै उठाउँदा लोकबहादुर रिसाए । विगतदेखि नै आफूलाई गालीगलोज गरेको मनमा गढेको आक्रोश समेत भएकाले उनले तेजबहादुरलाई पछ्याउँदै गए । गोगनको रुख भएको स्थानमा पुगेपछि उनले टाउकोमा चिर्पटले हानेको पाइएको छ ।
२–३ पटक हानेपछि तेजबहादुर ‘लोकेले मा¥यो’ भनेर कराए । त्यो सुनेर घरमा भएकी उनकी श्रीमती कमला र बुहारी रञ्जना दौडिँदै आए । त्यो देखेपछि लोकबहादुरले तेजबहादुरको शवलाई कान्लामुनि धकेलिदिए र काकी भएतिर गए ।
उनलाई पनि त्यही चिपर्टले हाने र खोल्सा तल झारिदिए । त्यो देखेर बुहारी रञ्जना बेहोस भएर ढलिन् । उनी उठ्दानउ्ठदै लोकबहादुरले चिपर्टले हाने ।कमला र रञ्जनालाई पछ्याउँदै आएका दुई नाबालक दिपेन र गोमालाई पनि लोकबहादुरले लखेटी–लखेटी चिर्पटले हानेर हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ ।
एकै परिवारका ५ जनाको हत्यापछि उनी तेजबहादुरकै घरमा गए, जहाँ हजुरआमा पार्वती कुँडो पकाइरहेकी थिइन् । लोकबहादुरले उनको टाउको भित्तामा बजारेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको डीआईजी बीसीले जानकारी दिए । ६ जनाको हत्या गरेपछि लोकबहादुर घरमा गए र घटनामा प्रयोग भएको चिर्पट कुँडो पकाउन बालेको आगोमा हालेको पाइएको प्रहरीले जनाएको छ ।