काठमाडौं । गएराति परेको वर्षाले काठमाडौंमै बाढी आएको छ । बाढीले शंखमूल पार्क लगायतका क्षेत्र डुबानमा परेका छन् । खोला किनारका बस्ती पनि डुबानमा परेका छन् ।बागमती र धोबिखोलामा आएको बाढीका कारण टेकु र बानेश्वर क्षेत्रमा विद्युत सेवा समेत अवरुद्ध भएको छ ।
बाढीका कारण प्रहरीले टेकु र बानेश्वर सबस्टेशनबाट लाइन काट्न भनेकाले बत्ती बन्द गरिएको नेपाल विद्युत प्राधिकरणका सिइओ कुलमान घिसिङले जानकारी दिनुभएको छ । काठमाडौं उपत्यकाको बागमती र यसको सहायक नदी जलाधारहरुमा पछिल्लो ६ घण्टादेखि वर्षा भइरहेको र थप वर्षा हुने बाढी पूर्वसूचना केन्द्रले जनाएको छ ।
यस्तै काभ्रेको बनेपास्थित पुल बजार क्षेत्र डुबानमा परेको छ । गएरातिको वर्षा र बाढीले सोमबार बिहान पुल बजार क्षेत्र डुबानमा परेको हो । वरपरका घर पसल जलमग्न भएका छन् । पैदलयात्रु र सवारी साधनसमेत पार गर्न समस्या छ ।
पुण्यमाता खोलाको बाढीले राति तीन बजेदेखि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारि दिएको छ। इलाका प्रहरी कार्यालय बनेपाको परिसर क्षेत्रसम्मै बाढी पुगेको छ ।
पुण्यमाता खोलाको बाढीले पुल बजार क्षेत्रमा हरेक वर्ष हुने डुबानको समस्या हुन्छ । तर डुबानको समस्या समाधान नहुँदा यहाँका बासिन्दा समस्यामा पर्दै आएका छन् । पुल बजार क्षेत्रमा साना गाडीहरु डुब्ने गरी पानी जम्मा हुन्छ । त्यो भल पार गर्न पानीको सतह कम नभइन्जेल कुरेर बस्नुपर्ने बाध्यता छ ।
अतिक्रमणको कारण खोला साँघुरो छ । अलि ठूलो पानी पर्नासाथ पानी ओभरफ्लो भएर सडक पूरै ढाक्छ । बनेपा बजारमै गाडी डुबाउने भल पार गर्दै गन्तव्यमा पुग्नुपर्ने बाध्यता हरेक वर्ष आइलाग्छ । तर यो समस्याको दीर्घकालीन समस्याको समाधान हुन सकेको छैन ।
हाल देशमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । लुम्बिनी, बाग्मती, गण्डकी र प्रदेश–२ का धेरै स्थानहरुमा मेघगर्जन सहितको मध्यम वर्षा भइरहेकाले सुरक्षित अवस्थामा रहन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ