27.1 C
Kathmandu
Tuesday, September 26, 2023

बजेट खर्चको लक्ष्य चुम्न सरकारलाई हम्मे हम्मे

काठमाडौं । चालु आर्थिक वर्ष २०७७-७८ को ११ औं महिना (साउनदेखि जेठसम्म) नेपालको कुल बजेट खर्च ६२.१७ प्रतिशत मात्र भएको छ । सरकारले चालु आवमा कुल १४ खर्ब ७६ अर्ब ६४ करोड रुपैयाँ बजेट खर्च गर्ने लक्ष्य लिएको थियो ।

तर, यो लक्ष्यलाई आगामी आर्थिक वर्ष २०७८-७९ को बजेटले १२ खर्ब ६६ अर्ब २६ करोड रुपैयाँ खर्च गर्ने गरि झारेको छ । यो दोस्रो संशोधन हो । चालु आवको बाँकि एक महिनामा संशोधित लक्ष्य भेटाउने हो भने अब सरकारले प्रतिदिन करिव १२ अर्ब रुपैयाँ खर्च गर्नुपर्छ ।

११ औं महिनासम्म चालु खर्च संतोषजनक नै भएपनि पुँजीगत खर्च भने टिठलाग्दो छ । आवको अन्तिम महिना बाँकी रहँदा अब लक्ष्यको ६० प्रतिशत भन्दा बढी पुँजीगत बजेट खर्च गर्नुपर्ने देखिएको छ । जेठ मसान्तसम्म मात्र ४०।५४ प्रतिशत पुँजीगत खर्च भएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार जेठ मसान्तसम्म कुल बजेट खर्च ९ खर्ब १६ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । यसमध्ये चालु खर्च ७ खर्ब ६१ करोड रुपैयाँ र पुँजीगत खर्च १ खर्ब ४३ अर्ब ८ करोड रुपैयाँ रहेको छ । यो क्रमशः ७३.८३ र ४०.५४ प्रतिशत प्रगति हो । वित्तीय व्यवस्थामा यो अवधिमा ७३ अर्ब १५ करोड रुपैयाँ बजेट खर्च भएको छ । यो कुल लक्ष्यको ४२।३४ प्रतिशत हो ।

सरकारले बजेटमार्फत दोस्रो संशोधित अनुमानमा सबैभन्दा ठूलो कटौती पुँजीगत खर्चमा गरेको छ । चालु आर्थिक वर्षमा सरकारले विनियोजनाको तुलनामा पुँजीगत खर्च १ खर्ब कम हुने अनुमान सहित संशोधित लक्ष्य तय गरेको हो ।

यो वर्ष सरकारलाई खर्चमा कोरोना महामारीको बाहना मिलेको छ । तर, लगातार दोस्रो भएको कम हुने पुँजीगत खर्चले आर्थिक वृद्धि, रोजगारी सिर्जना र अर्थतन्त्रको दीर्घकालिन विकासमा भने प्रभाव पर्नेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स