पोखरा । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा अक्सिजन नपाएर ७ जना कोरोना संक्रमितको ज्यान गएको छ। ज्यान गुमाउनेहरूमा शनिबार अप्रेसन गरेर सुत्केरी भएकी एक महिला, १ जना डायलोसिस गरिरहेका, १ जना कलेजोमा समस्या आएका र १ जना डायबिटिजको जटिलता भएका बिरामी रहेका छन् भने अन्य संक्रमितमा सामान्य स्वास्थ्य समस्यामात्र रहेको अस्पतालले जनाएको छ।
मृत्यु हुनेमा तनहुँका ३ जना, पोखरा, स्याङ्जा, पर्वत र म्याग्दीका १,१ जना रहेको अस्पतालमा कोरोना संक्रमितको उपचारमा खटिएका डाक्टर शरदचन्द्र बरालले बताए।
उनका अनुसार हाइफ्लोमा अक्सिजन दिनुपर्ने बिरामीलाई ५ मिनेटमात्रै अक्सिजनको मात्रा कम हुँदा बिरामीलाई संकट पर्छ। हाइफ्लोमा अक्सिजन दिँदा बिरामीलाई प्रतिमिनेट ६० देखि ८० लिटर अक्सिजन खपत हुने डा. बरालले बताए।
गएराति मृत्यु भएका यी ७ जना अक्सिजनको अभावले मात्रै भन्न नमिल्ने डा. बरालले बताए।