लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले सुत्केरीका लागि निःशुल्क यातायातको व्यवस्था गर्ने भएको छ । गाउँपालिकाको ८८ औँ बैठकले पालिका भित्रका सुत्केरीका लागि स्वास्थ्य केन्द्रसम्म पुग्ने निःशुल्क यातायातको व्यवस्था गर्ने निर्णय गरेको हो ।
गाउँपालिकाले गर्भवतीलाई स्वास्थ्य केन्द्रमै पुगेर सुत्केरी गराउन प्रोत्साहन गराउन यातायात खर्च व्यवस्थापन गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । अझै पनि पालिकाभित्रका ग्रामीण बस्तीका महिला स्वास्थ्य केन्द्र नपुगी घरमै सुत्केरी गराउने भएकाले यस्तो निर्णय गरिएको उनले बताए ।
गाउँपालिकाले गर्भवती र प्रसूति सेवा लिन पालिकाभित्रका बर्थिङ्ग सेन्टर वा स्वास्थ्य केन्द्रसम्म र पालिकाबाट जिल्ला अस्पताल सम्म पुग्नु परेमा पनि निःशुल्क यातायातको व्यवस्था गर्ने जनाएको छ ।
निःशुल्क यातायात सेवाका लागि गाउँपालिकाकै एम्बुलेन्स प्रयोग गर्ने वा एम्बुलेन्स सहज उपलब्ध हुन नसकेको अवस्थामा सम्बन्धित व्यक्तिले व्यवस्थापन गरेको सवारीसाधनको भाडा तिर्न सहयोग गरिने अध्यक्ष गुरुङले बताए ।