27.1 C
Kathmandu
Tuesday, September 26, 2023

सञ्चारकर्मीहरुको भूमिका महत्वपूर्ण हुने भन्दै दमकका पत्रकारको स्वास्थ्य बीमा नगरपालिकाले गरिदिने

दमक । दमक नगरपालिकाले आफ्नो क्षेत्रमा कार्यरत पत्रकारहरुको स्वास्थ्य बीमा गरिदिने भएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै नगरपालिका क्षेत्रमा स्थापना भई संचालनमा रहेका सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको स्वास्थ्य बीमा गरिदिने उल्लेख गरेको छ ।

नगरपालिकाले ज्येष्ठ नागरिकका अनुभवलाई अभिलेखीकरण गर्ने अभ्यास समेत शुरु गर्ने र यसमा स्थानीय सञ्चारकर्मीहरुको भूमिका महत्वपूर्ण हुने जनाएको छ । यसलाई ‘अन्तर पुस्ता सञ्चार’ नाम दिइएको उपप्रमुख गीता अधिकारीले बताउनुभयो । यसैगरी पत्रकारिता प्रवर्धनका लागि दमकमा ‘पत्रकारिता अध्ययन अनुसन्धान केन्द्र’ स्थापना गर्नेदेखि सञ्चारमाध्यमलाई मासिक रुपमै आर्थिक सहयोग गर्ने समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

साथै खोजमूलक पत्रकारिता प्रवर्धनका लागि तालिम, अवलोकन भ्रमण जस्ता प्याकेज अब दमकमा कार्यरत पत्रकारले पाउने छन् । व्यावसायिक पत्रकारिताको विकास र प्रवर्धनका लागि पत्रकारको क्षमता विकास र भौतिक पूर्वाधारको निर्माण दुवैमा नगरपालिकाको साथ रहने बताइएको छ ।

नगरपालिकाबाट सञ्चालन भएका काम, नगरपालिकासँग सम्बन्धित आफूलाई चाहिएको जानकारी लिन नगरपालिकाले ‘जनतासँग सरकार’ भन्ने एप्स सञ्चालनमा ल्याएको छ । सो एप्सलाई थप प्रभावकारी बनाइने नगरपालिकाले जनाएको छ ।

संघीय सरकार सामु पटक पटक उठेर कार्यान्वयनमा आउन नसकेको विषयलाई पनि दमक नगरपालिकाले कार्यान्वयनमा ल्याउने भएको छ । नगरपालिकाले नगरका सञ्चारमाध्यमलाई सशक्त बनाउन समानुपातिक विज्ञान नीति अँगाल्ने भएको छ ।

यसका लागि नगरपालिकाले तत्कालै सूचना तथा विज्ञापन सम्बन्धी नीति बनाउने छ । दमकका पत्रकारहरुको संस्था पत्रकार मञ्च दमकलाई भवन बनाउन जग्गा र बजेटको व्यवस्था गरिने प्रतिबद्धता पनि नीति कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स