पाल्पा । पाल्पामा वडाको अनुदानमा रिब्दीकोट गाउँपालिका ३ खस्यौलीका किसानलाई लैनो भैँसी वितरण गरिएको छ । पाँच जना किसानलाई लैनो भैँसी र पाँच जनालाई पाडी वितरण गरिएको वडाध्यक्ष विष्णुप्रसाद खनालले जानकारी दिनुभयो ।
न्यून आय भएका र हेफर नेपालसंगको पालिका स्तरिय कार्यक्रममा आवद्ध किसानहरूलाई मागको आधारमा मुर्रा र हरियाणा जातका भैँसी पाडी वितरण गरिएको वडाध्यक्ष खनालले बताउनुभयो । वडाको ३० हजार रुपैयाँ अनुदानमा भैँसी र पाडी वितरण गरिएको हो ।
किसानले यी भैँसी कम्तीमा तीन वर्ष आफ्नै गोठमा पाल्नु पर्ने छ । वितरण गरिएका भैँसीले दैनिक कम्तीमा आठ लिटर दुध दिने वडाध्यक्ष खनालले बताउनुभयो । आउँदो दिनमा राम्रोसँग भैसी–पाडी पाल्न सके आर्थिक सम्वृद्धि हासिल गर्न सकिने किसानहरू बताएका छन ।