26.6 C
Kathmandu
Wednesday, September 27, 2023

मालिका गाउँपालिकाले शिक्षकलाई निःशुल्क स्नातकोत्तर अध्ययनको व्यवस्था गरिदिने

गुल्मी । शैक्षिक गुणस्तर सुधार्नका लागि मालिका गाउँपालिकाले शिक्षकका लागि निःशुल्क स्नातकोत्तर तह अध्ययनको व्यवस्था मिलाएको छ ।

गाउँपालिकाले रेसुंगा बहुमुखी क्याम्पसँगको साझेदारीमा पालिकाभित्रका शिक्षकलाई शिक्षा संकायमा निःशुल्क अध्ययन गराउने भएको हो । यो सुविधा गाउँपालिकाभित्र वा बाहिर स्थायी ठेगाना भएका तर गाउँपालिकाभित्रका कुनै पनि विद्यालयमा अध्यापन गराउने सबै शिक्षकले प्राप्त गर्नेछन् । शिक्षकले बीचैमा अध्यापन गराउन छोडे भने उक्त सुविधा भने प्राप्त गर्ने छैनन् ।

यसका लागि गाउँपालिकाले क्याम्पस मातहत रहनेगरी ‘शिक्षक अध्ययन प्रोत्साहन कार्यक्रम’ को स्थापना गरेको छ । उक्त कार्यक्रमका लागि पालिकाले क्याम्पसलाई शुक्रबार दुई लाख प्रदान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले जानकारी दिनुभयो। ‘गाउँपालिकामा कतिपय शिक्षक स्नातक उत्तीर्ण गरेर स्नातकोत्तरमा भर्ना पनि भएका छैनन्,’ भण्डारीले भने, ‘उनीहरूलाई लक्षित गर्दै यस कार्यक्रमको सुरुवात गरेका हौं ।’ शिक्षक अध्ययनशील र गुणस्तरयुक्त भए मात्र गुणस्तरीय जनशक्ति उत्पादन गर्न सकिने भएकाले शिक्षकलाई निःशुल्क डिग्री अध्ययनको व्यवस्था मिलाइएको भण्डारीको भनाइ छ । यस वर्ष विभिन्न विद्यालयका ४० जना विद्यार्थी–शिक्षक उक्त कार्यक्रमबाट लाभान्वित हुनेछन् ।

रेसुंगा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिबहादुर खत्रीले त्रिभुवन विश्वविद्यालयले लिने रजिस्ट्रेसन, परीक्षा र थेसिस शुल्कबाहेक अन्य सबै खर्च गाउँपालिकाले ल्याएको कार्यक्रमबाट भुक्तान हुने बताए । ‘एक जना विद्यार्थीका लागि प्रथम सेमेस्टरमा औषतमा ३० हजार र सबै सेमेस्टर सकिँदा १ लाख २० हजारभन्दा धेरै खर्च हुन्छ,’ खत्रीले भने, ‘यसरी खर्च हुँदा वार्षिक २ लाखले पुग्दैन, तर पालिकाको नीति कार्यान्वयमा क्याम्पस सहयोगी संस्था बन्छ ।’

क्याम्पस प्रमुख खत्रीले आगामी वर्षमा विद्यार्थी हुँदा वा नहुँदाको अवस्थामा पनि पालिकाबाट निरन्तर सहयोग आउने र अन्य पालिकाबाट पनि यस्तै प्रकारको सहयोगको अपेक्षासहित कार्यक्रम सम्झौता गरिएको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स