काठमाडौँ /काठमाडौँ जिल्लामा कोविड १९ विरुद्धको चिनियाँ खोप भेरो सेलको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ । काठमाडौँ महानगरले ३२ वटा खोप केन्द्रबाट ०७७ चैत २५, २६, २७ र २८ गते पहिलो मात्रा खोप लिएकाहरुलाई दोस्रो डोज लगाउन सुरु गरेको हो । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र जनस्वास्थ्य विभागका अधिकारीसहित विभिन्न खोप केन्द्र पुगेर व्यवस्थापनकीय पक्ष र सेवा अवस्थाको अवलोकन गरेका छन् ।
अवलोकनपछि अवस्थाका बारेमा जानकारी दिँदै प्रमुख शाक्यले भने, ‘खोप केन्द्रलाई व्यवस्थित बनाउन प्रयास गरिएको छ । लाइनमा बस्दा भौतिक दुरी कायम गर्ने, घरबाट निस्कँदै कार्ड लिएर र मास्क लगाएर मात्र खोप केन्द्रमा आउने, भीड नगर्ने जस्ता आधारभूत कुरा सबैतिर पालना गरिएको छ । कुनै कुनै केन्द्रमा अलि लामो लाइन छ ।’ अवलोकनका क्रममा देखिएको लामो लाइन घटाउने विषयमा कुरा गर्दै उहाँले भन्नुभयो, ‘तोकिएको दिनमा विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म आफूलाई पायक पर्ने खोप केन्द्र जहाँ पनि गएर खोप लगाउन पाउने व्यवस्था गरेका छौँ । त्यसैले खुकुलो गरी खोप लगाउन, भीड र हुलमुल नगर्न मेरो अनुरोध छ । ’