सप्तरी । सप्तरीका स्थानीय तहमा आर्थिक अनुशासन उल्लंघन गर्ने सिलसिला रोकिएको छैन । स्थानीय तहले नियमविपरीत मनलाग्दी खर्च गरिरहेका छन् । कानुनले तोकेभन्दा बाहिर गएर खर्च गर्ने, सेवा–सुविधा लिने, सभाले पारित गरेभन्दा बाहिर गएर खर्च गरेपछि स्थानीयको गुनासो बढ्दै गएको छ ।यसको पछिल्लो उदाहरण हो, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका । यो नगरपालिकामा खाना तथा विविध खर्च शीर्षकमै झन्डै १ करोड रुपैयाँ खर्च भएको छ ।स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रहेर औचित्यका आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था छ । तर, नगरपालिकाले २०७६र७७ मात्रै खाना तथा विविधतर्फ ९८ लाख ७ हजार २४८ रुपैयाँ खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, विष्णुपुर गाउँपालिकाले खाना तथा विविध शीर्षकमै ११ लाख रुपैयाँ खर्चेको छ । गाउँपालिकाले २०७६र७७ मात्रै खाना तथा विविधतर्फ ११ लाख रुपैयाँ खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।