बुटवल । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का हान्ने युवक गणेश पंगेनी धरौटीमा रिहा भएका छन् । मंगलबार ५ हजार रुपैयाँ धरौटी बुझाएर पंगेनीलाई रिहा गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको हो ।
भदौ ४ गते बिहान बुटवल–३ ज्योतिनगरको पहिरो अवलोकन गर्न गएका मेयर सुवेदीमाथि पंगेनीले मुक्का प्रहार गरेका थिए । मुक्का प्रहार गरेको केही घण्टापछि सार्वजनिक शान्ति सुरक्षाविरुद्धको कसूर अन्तर्गत उनलाई बुटवल प्रहरीले सोही दिन साँझ पक्राउ गरेको थियो । सार्वजनिक शान्ति सुरक्षाविरुद्धको कसूर अन्तर्गत अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान गरेको थियो ।
पंगेनी बुटवलको ज्योतिनगरका पहिरो पीडित पनि हुन् । पहिरो अवलोकन गर्न आएका आफ्नै पार्टीको मेयरमाथि गाली गलौज गर्दै उनले मुक्का प्रहार गरेका थिए । उनी एमाले निकट अनेरास्ववियु रुपन्देहीका जिल्ला सदस्य हुन् ।