18.1 C
Kathmandu
Monday, December 4, 2023
spot_img

स्वास्थ्यसंस्थाबाट निस्किने फोहोरमाथि उपमहानगरपालिकाको निगरानी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाभित्र रहेका विभिन्न अस्पताल र निजि क्लििनिकहरुले स्वास्थ्यजन्य फोहोरको उचित व्यवस्थापन नगर्ने र जहाँ पायो त्यहि फाल्ने गरेका छन् । उपमहानगरपालिकाले नगरमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापनमा सम्बन्धित पक्षद्वारा लापरबाही गरिएको पाएपछि सो बारेमा विशेष निगरानी सुरु गरिएको हो ।

नेपालगन्जका नगरप्रमुख प्रशान्त विष्टले स्वास्थ्यजन्य फोहोर अरु सामान्य फोहरजस्तो नभएको जनाउँदै यो स्वास्थ्यका लागि निकै हानिकारक भएकोले यसको सही व्यवस्थापन आवश्यक रहेको बताउनुभयो । उहाँले उपमहानगरभित्र रहेका अस्पतालहरुदेखि लिएर निजि क्लिनिक र मेडिकल स्टोरहरु समेत सो बारेमा गम्भीर नदेखिएकोले चिन्ता बढेको बतानउनुभयो । सोही कारणले नगर प्रमुख विष्ट, उपप्रमुख कमरुद्दीन राई, वातावरण तथा सरसफाई शाखा र प्रमुख कार्यकारी अधिकृत आफैंले नगरका विभिन्न स्थानमा पुगेर स्वास्थ्यजन्य फोहोरको अवस्थाबारे अनुगमन गर्ने गर्नुभएको छ ।

नेपालगन्ज उपमहानगरका उपप्रमुख राईले त्यस्तो अनुगमन गर्दा धेरै ठाउँमा सडक छेउमा लापरबाहीपुर्ण तरिकाले स्वास्थ्यजन्य फोहोर फालिएको पाईएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्यजन्य फोहर व्यवस्थापनमा औषधि पसलहरूले समेत लापरबाही गरिरहेको पाएपछि सो रोक्न कडाई गरिएको छ, स्वास्थ्यजन्य फोहर प्रशोधन केन्द्र नै सञ्चालन गरेर दैनिकरुपमा फोहर सङ्कलन भइरहँदा पनि लापरबाही गर्ने छुट कसैलाई छैन ।”

नेपालगन्जलाई सफा स्वच्छ र सुन्दर बनाउन हरेक नगरवासीको सहयोग र समर्थन अपरिहार्य भएको उपमहानगरपालिकाले जनाएको छ । उता, नेपालगन्जका नगर प्रमुख विष्टले सरसफाईमा लापरबाही गर्ने छुट कसैलाई पनि नदिने जनाउँदै यसमा सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले सरसफाईका लागि हरेक वर्ष ठुलो धनराशी खर्च गरिरहेको छ । तर, सहर सफा देखिनुको साट्टा झन फोहोर देखिन थालेको जन गुनासो छ । नेपालगन्ज उपमहाननगर वडा नम्बर ११ का वडा अध्यक्ष नन्द किशोर कश्यपले सरसफाईमा विशेष ध्यान दिएको जनाउँदै आफू स्वयम् प्रत्यक्ष रुपमा सो काममा खटिने गरेको बताउनुभयो । उहाँले नागरिकमा इमानदारिता, जागरूकता र जिम्मेवारीपन भएमा सफा र स्वच्छ नगर बनाउने उपमहानगरपालिकाको अभियान छिट्टै सार्थक हुने जनाउँदै त्यसका लागि वडा नम्बर ११ ले काम गरिरहेको बताउनुभयो ।

स्वास्थ्यजन्य फोहोरको उचित विसर्जन नगरको सुन्दरता र स्वास्थ्यसँग जोडिएको सम्वेदनशील विषय भएकाले सबैको साझा प्रयासबाट मात्र नगरलाई स्वच्छ र सफा राख्न सकिने उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स