काठमाडौँ । दसैँमा घर जाने यात्रुलाई लक्षित गरेर आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको छ । देशका विभिन्न क्षेत्रबाट काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरू दसैँ मनाउन घर जानेहरूका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो ।
आज पहिलो दिन भने टिकट काउन्टरमा खासै भीड देखिएको छैन । कोरोना सङ्क्रमणको दर घटे पनि जोखिम कायमै रहेको कारण यो वर्ष काठमाडौँ छोड्नेको सङ्ख्या कम हुने आँकलन गरिएको छ । अग्रिम टिकट बुकिङ काउन्टरमा पश्चिमको धनगढी, टिकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्युठान, रोल्पा तथा पूर्वको ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको सानो लाइन थियो ।
यातायात व्यवस्था विभागले गत बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको थियो ।
कतिपय यातायात व्यवसायीहरुले अनलाइनमार्फत् पनि टिकट बुकिङको व्यवस्था मिलाइएको जनाएका छन् ।