काठमाडौं बलिउड अभिनेत्री प्रियंका चोपडाले भारतका कोरोना संक्रमितको उपचार सहयोगका लागि २२ करोड भारु संकलन गरेकी छिन्।
इन्स्टाग्राममा पोष्ट गर्दै प्रियंकाले उक्त कुराको जानकारी दिएकी हुन् । प्रियंकाले २२ करोड रकम सहयोग जम्मा गर्न सहयोग पुर्याउने विश्वभरका आफ्नो शुभचिन्तकलाई धन्यवाद दिँदै सहयोग जुटेको यो रकमले भारतका कोरोना संक्रमितको ज्यान जोगाउन मद्दत पुर्याउने बताएकी छिन्।
आफनो पोष्टमा उनले भनेकी छिन्,‘तपाइँहरुको सहयोगले कोरोना संक्रमितलाई बचाउने हाम्रो योजना सफल हुँदैछ। हामीले ५ हजार अक्सिजन कन्सन्ट्रेटर खरिद गरेका छौं। यसको मतलब हामीले हरेक महिना २५ सयलाई अक्सिजन सेवा दिन सक्छौं। यो रकमले १० खोप केन्द्रमा दक्ष जनशक्ति प्रदान गर्नेछ। ती जनशक्तिले दुई महिनामा ६ हजारलाई खोप लगाउनेछन्।’
‘सहयोग रकमले ४२२ अक्सिजन सिलिन्डर खरिद गरिएको छ जसमा प्रति सिलिन्डर ६ हजार लिटर अक्सिजन राख्न सकिन्छ’ उनी भन्छिन्,‘धन्यवाद जसले संक्रमितको ज्यान जोगाउन सहयोग पुर्याउनुभयो।’