26.6 C
Kathmandu
Wednesday, September 27, 2023

आजदेखि पशुपतिनाथ मन्दिर भक्तजनका खुला

काठमाडौँ । कोरोना सङ्क्रमणका कारण बन्द भएको पशुपतिनाथ मन्दिर शुक्रबारदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ । बिहान ६ः०० बजेदेखि मन्दिर साबिकअनुसार खुला हुने बताइएको छ । लामो समय बन्द गरिएको पशुपतिनाथ मन्दिरमा बिहीबार क्षमापूजा गरिएको थियो ।

सर्वसाधारण भक्तजनको व्यग्र प्रतीक्षामा रहेको यो मन्दिरमा अत्यधिक भीड हुन सक्ने अनुमान गर्दै पशुपति क्षेत्र विकास कोषले आवश्यक सुरक्षा प्रबन्ध पनि मिलाएको छ । पशुपतिनाथका कोटवाल पूर्णनारायण जोशीका अनुसार मन्दिर परिसरमा रहेका पिण्डेश्वर, सन्तानेश्वर, सन्तापहरेश्वर, ज्वरेश्वर, नीलकण्ठलगायत सबै देवस्थलमा भक्तजनलाई पङ्क्तिवद्व भएर रहने व्यवस्थाका लागि कर्मचारी खटिएका छन् ।

पशुपतिनाथ अमालकोट कचहरी कार्यालयका द्वारे पूर्ण डङ्गोलका अनुसार पशुपतिनाथ र गुह्येश्वरीमा पनि आवश्यक व्यवस्थापन गरिएको छ । भदौ २६ को ऋषि पञ्चमीमा पशुपतिनाथको दर्शन हुन सकोस् भन्ने चाहना पशुपति क्षेत्र विकास कोषको रहेको छ । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि गत वैशाख १० गतेदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । पशुपतिनाथ मन्दिर दर्शन गर्न जान चाहने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने छ । एकपटकमा २५ जना भक्तजनलाई मात्र मन्दिर प्रवेश गराइने छ ।

मन्दिर प्रवेशका लागि भक्तजनले भौतिक दूरी कायम गरेर लाममा बस्नुपर्ने छ । एउटा ढोकाबाट मन्दिर प्रवेश गरेपछि अर्को ढोकाबाट निस्कने व्यवस्था कोषले मिलाएको छ । कोरोना महामारीका कारण विसं २०७७-२०७८ साउन एवं हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मूल मन्दिर बन्द भएको छ

विसं २०७६ चैत महिनामा नेपालमा पहिलोपटक कोरोना महामारी प्रवेश गर्दा पनि नौ महिनासम्म पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । विसं २०७६ साल चैत ११ गतेदेखि बन्द गरिएको मन्दिर २०७७ पुस १ गतेदेखि बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म खुला गरिएको थियो । विशेष पूजा भने फागुन २५ गते महाशिवरात्रिदेखि मात्र शुरु गरिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स