काठमाडौं । काठमाडौं महानगरपालिकासहित उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर भोलि बुधबार विहान ६ बजेबाट उठ्ने भएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको बैठकले फोहोर उठाउने निर्णय गरेको हो ।बैठकको निर्णयपछि उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर बुधबार विहान ६ बजेबाट उठ्ने प्रमुख शाक्यले बताउनुभयो ।
बैठकमा सडक विभागले बञ्चरेडाँडासम्म पुग्ने बैकल्पिक बाटो निर्माण गर्ने र यसको खर्च महानगरपालिकाले व्यर्होने निर्णय भएको उहाँले बताउनुभयो । यहि निर्णय अनुसार सडक विभागले काम अगाडि बढाएको समेत उहाँले जानकारी दिनुभयो ।
फोहोरको प्रतिवेदन पेश गर्ने संयोजक समेत रहनुएको महानरपालीकाकी उपप्रमुख हरिप्रभा खड्गीले वर्षाले गर्दा फोहोरले बनेको बाटो भासिएको कारण फोहोर उठ्न नसकेको बताउनुभयो ।
करिब एक महिनादेखि काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको छैन । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकासहित नगरपालिकाले सडकको अवस्था बिग्रिएको भन्दै फोहोर उठाउन छाड्दा शहरका सडक, गल्ली, चोक र नदी किनारमा पनि फोहोरका डंगुर छन् ।
२०६६ साल भदौ १४ गतेको मन्त्रिपरिषद्को बैठकले उच्चस्तरीय समिति गठन गरेको थियो । फोहोरको व्यवस्थापनमा समितिमार्फत निजी क्षेत्रले प्रवेश पाएको थियो । समितिले काम गर्न नसकेपछि २०६८ सालमा लगानी बोर्डलाई जिम्मेवारी दिइएको थियो । फोहोरमैला व्यवस्थापन ऐन २०६८ लागू भएपछि स्थानीय तहलाई दिइएको जिम्मेवारी पनि दश वर्ष हुन थालेको छ । तर समास्य समाधान हुनुभन्दा झन् बल्झिन थालेको छ ।