27.1 C
Kathmandu
Tuesday, September 26, 2023

निषेधाज्ञा एक साता थप गर्ने तिन प्रजिअको तयारी, सार्वजनिक यातायात सञ्चालन गर्ने देखिएन छाँटकाँट

काठमाडौं । बैशाख १६ देखि उपत्यकामा जारी निषेधाज्ञा पुनः एक साता थप गर्ने तयारी गरिएको छ । निषेधाज्ञा खुकुलो पारिए पनि कोरोना भाइरस संक्रमण दर नघटेको निष्कर्ष निकाल्दै उपत्यकाका तीनै जिल्ला प्रशासनले पुनः एक साता निषेधाज्ञा लम्ब्याउने तयारी गरेका हुन् ।

आइतबार बेलुकी बस्ने तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा अवधि एक साता थप गर्ने तर, कुन–कुन क्षेत्रलाई कडाइ र खुकुलो गर्ने भन्ने बारे निर्णय भइनसकेको ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौलाले बताएका छन् । उनका अनुसार उपत्यकामा कोरोना संक्रमण दर घटिनसकेको र अहिल्यै निषेधाज्ञा खोलिए अवस्था भयवह हुन सक्ने र थप एक साता भने निषेधाज्ञा थप गर्ने अनौपचारिक निर्णय भएको छ । आइतबार तीनै सीडीओको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गर्ने पनि उनले बताए ।

अहिले निजी सवारीमा जोररबिजोर प्रणालीअन्तर्गत साधन चलिरहेका छन् तर, सार्वजनिक यातायात भने बन्देज अवस्थामा छन् । यस विषयमा सार्वजनिक यातायात सञ्चालन गर्न आफूहरुलाई दिनहुँ यातायात व्यवसायीको माग आइरहेको पनि उनले बताए । उनका अनुसार सार्वजनिक यातायात सञ्चालनबारे तत्काल खुला गर्ने तीनै जिल्लाको योजना छैन । तैपनि, आइतबारको बैठकले संक्रमण दरलाई नियालेर निर्णय लिने उनले बताए ।

यता, काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले निषेधाज्ञा लम्बिने तर, सार्वजनिक यातायात भने तत्काल सञ्चालनमा नल्याइने बताएका छन् ।उनका अनुसार सार्वजनिक यातायात सञ्चालन गरेर जनजीवन सरल बनाउनु आफूहरु तयार रहे पनि कोरोना संक्रमण दर न्यून नभएका कारण हतार नगरिने उनले बताए । सार्वजनिक यातायात सञ्चालनबारे स्वास्थ्य मन्त्रालयको सुझावलाई हेरेर निर्णय गरिने पनि उनले बताएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स