काठमाडौं । सिन्धुपाल्चोकका बाढीग्रस्त मेलम्ची नगरपालिकासँगै पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकालाई काठमाडौं महानगरपालिकाले राहत तथा उद्दारका लागि ३ करोड रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहितको टोली मेलम्ची पुगि ती पालिकालाई सहयोग रकम हस्तान्तरण गरेको हो ।
काठमाडौं महानगरपालिकाको तर्फबाट काठमाडौं महानगरसँग भगिनी सम्वन्ध स्थापित मेलम्ची नगरपालिकालाई दुई करोड र बाँकी दुई पालिकालाई ५०—५० लाख आर्थिक सहयोग गर्ने मेयर शाक्यले घोषणा गरेका थिए । सहयोग रकम हस्तान्तरणसँगै शाक्यसहितको टोलीले सिन्धुपाल्चोकका मेलम्ची र इन्दावती नदीमा आएको बाढीपछि क्षतिग्रस्त स्थलको अवलोकन समेत गरेको छ । बाढीग्रस्त क्षेत्रको अवलोकन गर्ने र सहयोग रकम पनि हस्तान्तरण गर्ने योजनासहित मेलम्ची आइपुगेका शाक्यले सहयोग रकम हस्तान्तरणपछि सम्वोधन गर्दै बाढीग्रस्त सिन्धुबासीका लागि थोरै भए पनि उक्त रकमले सहयोग पुग्ने अपेक्षा लिएको बताए ।
यता स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले काठमाडौं महानगरपालिकाको यो सहयोग बाढीले बनाएको घाउँमा मल्हम हुने बताए । ‘मेलम्चीवासीलाई पीडा पर्दा काठमाडौं महानगरपालिकाका प्रमुखसहितको टिम मल्हम लगाउनु आउनु भएको छ, मेलम्ची र सिङ्गो यो क्षेत्रका जनताको तर्फबाट यहाँहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु,’ मन्त्री तामाङले भने, ‘यो दुःखका बेला गरेको सहयोगले हामीलाई थप ऊर्जा प्राप्त भएको छ ।’
मेलम्ची नगरपालिका काठमाडौं महानगरसँग भगिनी सम्वन्ध स्थापित नगर हो । उक्त नगरलाई यस अघि पनि नगर(नगर साझेदारी कार्यक्रम अन्तरगत महानगरपालिकाले मेलम्ची नगरपालिका वडा नं.१० मेलम्चीबजार नजिक इन्द्रावती नदीको किनारमा जोडिएको स्थलमा पानीको फोहरा, हेलिप्याड, पर्यटक विश्रामस्थल, बालबालिका खेलकुद कक्ष सहितको रमणीय तथा पर्यटकीय मेलम्ची सिटी पार्क निर्माणका लागि रु। १ करोड ५० लाख रकम अनुदान दिने सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो ।